थप कम्पनीले पाए ब्रोकरको शाखा खोल्न अनुमति, पोखरा र भक्तपुरमा खुल्नेछन् नयाँ शाखा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले थप तीन ओटा ब्रोकर कम्पनीहरूलाई शाखा खोल्न अनुमति दिएको छ । यसअघि ११ ओटा ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा खोल्न अनुमति दिएको बोर्डले पछिल्लो समय पोखरामा दुई र भक्तपुरमा एक शाखा विस्तारका लागि अनुमति दिएको हो । बोर्डले पछिल्लो समय शनि सेक्यूरिटिज, आर्यतारा इन्भेष्टमेन्ट र नासा सेक्यूरिटिजलाई शाखा विस्तारका लागि अनुमति प्रदान गरेको जानकारी दिएको हो । बोर्डका अनुसार नासा सेक्यूरिटिज र शनि सेक्यूरिटिजले पोखरामा र आर्यतारा इन्भेष्टमेन्टले भक्तपुरमा शाखा खोल्न अनुमति पाएको हो । पछिल्लो समय बोर्डले आवश्यक कागजात समयमै पेश भएको खण्डमा बढीमा १५ दिनभित्र शाखा खोल्न अनुमति प्रदान गर्ने नीति लिएको छ ।सोही नीति बमोजिम बोर्डले ब्रोकरहरूलाई शाखा विस्तारको अनमतिलाई निरन्तरता दिईरहेको छ ।देशव्यापी रुपमा सहज तरिकाले धितोपत्रको पहुँच पुर्‍याउन ब्रोकरको शाखा विस्तारका लागि बोर्डले जोड दिएको छ ।  बोर्डले ब्रोकलाई नयाँ शाखा सञ्चालनका अनुमति दिनकै लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ गत फागुन ४ गतेदेखि लागू गरेको थियो । सोही निर्देशिका बमोजिम बोर्डले नयाँ ब्रोकर शाखा खोल्न अनुमति दिदैं आएको छ । हाल ५० ओटा ब्रोकर कम्पनीहरूले धितोपत्र बजारमा मध्यस्थकर्ताको रुपमा सेवा प्रवाह गरिरहेका छन् । राजधानी केन्द्रित रहेको ब्रोकर सेवा शाखा विस्तार गरी देशव्यापी रुपमा फैल्याउने योजना ब्रोकरहरूको समेत रहेको छ । शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्ने व्यवस्था छ । शाखा कार्यालय खोल्दा प्रतिशाखा रू. १ करोड ५० लाखका दरले चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल शाखा कार्यालय खोल्न चुक्तापूँजी कायम नभएको अवस्थामा निर्देशिका लागूू भएको मितिले ६ महीनाभित्र पूँजी कायम गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ । बोर्डबाट स्वीकृति पाएको तीन महीनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याुउनुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । शाखा कार्यालय सञ्चालन गर्नुपूर्व कम्तिमा सात दिन अघि बोर्डलाई जानकारी समेत गराउनुपर्नेछ । ब्रोकरले शाखा सञ्चालन गर्नुपूर्व बोर्डले आवश्यक देखेको खण्डमा शाखा कार्यालयको पूूर्वाधार निरीक्षण समेत गर्न सक्नेछ । बोर्डले निरिक्षण गर्दा रितपूर्वक पूर्वाधार तयार गरेको नदेखिएमा बढीमा १५ दिनको समय दिई पूर्वाधार पूर्ण रुपमा तयार गर्न निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । बोर्डले रितपूर्वक पूर्वाधार तयार नगर्ने ब्रोकलाई शाखा कार्यालय खोल्न दिएको स्वीकृति रद्द पनि गर्न सक्नेछ । बोर्डबाट स्वीकृति रद्द भएको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्न पुनः निवेदन दिन पाइनेछैन् ।  यदि ब्रोकरले शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा बोर्डलाई जानकारी गराई जुन जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेको हो सोही जिल्लाभित्र साविकको पूर्वाधार कायम राखी शाखा स्थानान्तरण गर्न सक्नेछ ।  शाखा कार्यालयका लागि तयार गर्नुपर्ने न्यूनतम पूर्वाधार : १. शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तिमा पाँच सय वर्गफिट हुनुपर्ने  २. शाखा कार्यालयमा कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिचान (कम्प्लाइन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने । ३. शाखा कार्यालयबाट हुने कारोबार मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने । ४. कम्तिमा दुई थान कम्प्युटर र त्यसका लागि पावर व्याकअप भएको हुनुपर्ने । ५. शाखा कार्यालयको कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा डेडिकेटेड इन्टरनेट कनेक्टीभिटिको प्रयोग भएको हुनुपर्ने । ६. कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टा छ्ट्टै हुनुपर्ने । ७.टेलिफोन , फ्याक्स, इमेल, इन्टरनेट तथा सिसीटिभि जस्ता पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने । ८.कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरूको यथोचित व्यवस्था भएको हुनुपर्ने ।  यो पनि हेर्नुहोस् । ब्रोकरको शाखा खोल्न ११ कम्पनीले पाए अनुमति, यी २० ठाउँमा खुल्नेछन् नयाँ शाखा

सम्बन्धित सामग्री