कोरोना भाइरसको सङ्क्रमणका कारण सगरमाथा संवाद अर्को सूचना जारी नभए सम्मका लागि स्थगित

राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।           मन्त्रिपरिषद्को निर्णयानुसार ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ शीर्षकमा पहिलो संवादको शृङ्खला आरम्भ गर्न प्रारम्भिक एवं व्यवस्थापकीय तयारी प्रायः पूरा भइसकेका बेला विश्वव्यापीरुपमा नै कोरोना भाइरसको सङ्क्रमणको त्रास बढेकाले आइतबारको मन्त्रिपरिषद् बैठकले विश्वस्तरको उक्त संवादका सबै कार्यक्रम स्थगन गरेको हो ।