काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि अन्तिम दिन भदौ १३ गतेसम्म मागभन्दा ८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म ९ लाख ८० हजार ५३ जनाबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता आईपीओ खरीद माग भएको हो ।
कम्पनीले सर्वसाधारणमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर १२ लाख ५ हजार ३२० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता, कर्मचारीहरूका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार १३३ कित्ता आईपीओ यसअघि बाँडफाँट गरिसकेको छ ।
यो कम्पनी २०६९ वैशाख ३ गते पब्लिक लिमिटेड कम्पनीमा दर्ता भई सञ्चालनमा छ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनाको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट लागत १८ करोड २७ लाख रुपैयाँ छ ।