केबलकार सञ्चालनले मौलाकालिकामा दर्शनार्थी बढे

चितवन । केबलकार सञ्चालनमा आएसँगै नवलपुर गैंडाकोटको मौलाकालिका मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्न थालेकोछ । यसअघि दर्शनार्थी पैदल र अटो रिक्सामा मन्दिर पुग्नुपर्ने बाध्यता थियो । विगतको तुलनामा २५ प्रतिशत दर्शनार्थी बढेको धार्मिक सेवा समिति, मौलाकालिकाले जानकारी दिएको छ । समितिका अध्यक्ष शालिग्राम सापकोटाले केबलकार सञ्चालनमा आएपछि हरेक महीना दर्शनार्थीको संख्या २५ प्रतिशत हाराहारीमा बढेको बताए । उनका अनुसार आजभोलि शनिवार एक हजार ५०० को हाराहारीमा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । अन्य दिन औसत ५०० दर्शनार्थी मन्दिर पुग्ने उनको भनाइ छ । बिदाको दिन र पर्व विशेषमा संख्या बढ्ने गरेको छ । दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने दर्शनार्थी कम हुने गरेको र बिहानमा कतिपय दर्शनार्थी पैदलै मन्दिर पुग्ने सापकोटाको भनाइ छ । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले वैशाख महीनामा २५ हजार र जेठमा बढेर २६ हजारले केबलकारको टिकट काटेको बताए । असार र साउनमा केही घटे पनि साताको बुधवार अपराह्न २ बजेदेखि ५० प्रतिशत छूट पाइने भएकाले दर्शनार्थीको संख्या बढ्दै गएकोे पौडेलको भनाइ छ । अन्य समयमा ५५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेर केही मिनेट पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएसँगै नवलपरासी, चितवन, तनहुँ लगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ सूर्यास्त भएपछि आरती गरिँदै आएको छ । केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।