वायु प्रदूषण, मानसिक स्वास्थ्य र मनोविज्ञान

मुलुकभरि नै वायु प्रदूषणको मात्रा बढेको छ । अहिलेको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको मापदण्डभन्दा निकै खराब अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय वायु प्रदूषणले विश्वभर प्रतिवर्ष लगभग तीन मिलियन (तीस लाख) अकाल मृत्यु हुने गर्छ । मापदण्डअनुसार हावाको गुणस्तर सूचक ५० सम्म रहनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५० देखि १०० सामान्य र त्योभन्दा माथि हानिकारक मानिन्छ । दुई सयभन्दा माथि जानु घातक र तीन सयभन्दा माथि अति अस्वस्थकर मानिन्छ । वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यू एअर’को तथ्याङ्कले केही दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ । म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ । आईक्यू एअरका अनुसार २९ मार्च २०२१ सोमबार दिउँसो काठमाडौँ विश्वका ९४ सहरमध्ये दक्षिण कोरियाको बुसान सहरपछि दोस्रो बढी प्रदूषितमा रह्यो । प्रदूषित सहरको सूचीमा बङ्गलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौथो, भारतको कोलकाता पाँचौँ, म्यानमारको याङ्गुन छैटौँ र भारतको दिल्ली सातौँ स्थानमा थिए ।