वाणिज्य बैंकहरूको नाफा औसत ०.५४ % बढ्यो, सेञ्चुरी बैंकको १८३ % बढ्दा १२ ओटा बैंकको नाफा घट्यो

वैशाख ७, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को नौ महीनामा २७ ओटा वाणिज्य बैंकको नाफा औसत शून्य दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो चैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २७ मध्ये १५ ओटा बैंकको नाफा वृद्धि भएको हो । बाँकी १२ ओटा बैंकहरूको नाफामा भने कमी आएको छ ।  गत आवको चैत मसान्तसम्मसम्म २७ ओटा वाणिज्य बैंकले ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको गरेका थिए भने चालू आवको सोही अवधिसम्ममा ५१ अर्ब १ करोड रुपैयाँ नाफा गरेका छन् ।  सर्वाधिक नाफा घट्नेमा लक्ष्मी बैंक रहेको छ । उक्त कम्पनीको नाफा ३३ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकले चालू आवको सोही अवधिमा ८५ करोड ८९ लाख रूपैयाँ नाफा गरेको छ । त्यस्तै नेपाल बङ्गलादेश बैंकको ३२ प्रतिशत र बैंक अफ काठमाण्डूको २५ प्रतिशत नाफा घटेको छ ।  नाफा घटने अधिकांश बैंकको खराब कर्जा चालू आवको चैत मसान्तसम्म बढेको छ ।  त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्ममा सेञ्चुरी कमर्सियल बैंकको नाफा सर्वाधिक बढेको छ । उक्त कम्पनीको नाफा गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालू आवको सोही अवधिमा १८३ प्रतिशतले वृद्धि भएको हो । गत आवको चैत मसान्तसम्म उक्त कम्पनीको नाफा ३५ करोड ८१ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा नाफा १ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।