५१ कम्पनी प्रकरण: धितोपत्र बोर्ड बिरुद्द सर्वोच्चमा दायर मुद्दाको दोस्रो पेशी आज तोकियो

धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची जारी गरेपछि बोर्ड विरुद्द दायर गरिएको मुद्दामा आज दोस्रो पटक पेशी तोकिएको छ।  अधिवक्ता रविन बोहजु र अधिवक्ता सुरेन्द्र कोंजुले बोर्ड बिरुद्द सर्वोच्च अदालतमा असार ४ गते रिट दायर गरेका थिए । उक्त रिटमा असार ६ गते डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अनतरिम आदेश नहुने उल्लेख गरेको थियो । ६ महिनापछि सोहि मुद्दाको पेशी आज तोकिएको छ ।  आज न्यायधीश इश्वर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशमा उक्त पेशी तोकिएको छ ।  यो पेशी इजलाशको २४ औ नम्बरमा रहेकोले यसमा सुनुवाई हुने सम्भावना भने न्यून छ । रिटमा बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरिएको छ । रिट निवेदन अधिवक्ता बोहजुले बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भनी जारी गरेको विज्ञप्ति कानुन सम्मत नभएकोले उक्त विज्ञप्तिलाई बदर गर्न माग गरिएको बिजपाटीलाई जानकारी दिए । बोर्डको उक्त कदम ऐनमा उल्लेख बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिर रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएकोले विज्ञप्ति बदर हुनु पर्ने माग गरिएको अधिवक्ता बोहजुले बताए  । रिट निवेदनमा शेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि बोर्डलाई परमादेश दिनको लागि पनि माग गरिएको छ ।