काठमाडौं । रिडी पावर कम्पनी यस वर्ष ४ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करीब ५७ प्रतिशत कम हुँदा कम्पनी नोक्सानीमा गएको हो । गत वर्ष ९ करोड २९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड २ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।
यस त्रैमाससम्म बाढीका कारणबाट क्षतिग्रस्त भई इवा खोला जलविद्युत आयोजनाबाट आम्दानी हुन नसक्दा यो वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार रुपैयाँ छ । क्यापिटल रिजर्भ ६ करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जामा भने कमी आएको छ । गत वर्ष ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कर्जा रकम यस वर्ष ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । वार्षिक ७७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रुपैयाँ ३८ पैसा रहेको छ ।
पहिलो त्रैमासमा बैंकको ब्याज वृद्धि हुँदा खुद आम्दानीमा कमी आएको कम्पनीले जानकारी दिएको छ । आगामी दिनमा ब्याज खर्चमा कमी आउँदा नाफामा सुधार हुने कम्पनीले अपेक्षा गरेको छ ।