काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३१औैं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीहरूको आर्थिक वर्ष (आव) २०७९/८० को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले बैंकले निकट भविष्यमा सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार शुरू गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको बताए ।
बैंकले गत आवमा प्राप्तिसहित २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताइएको छ । सभाले बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रतापजंग पाण्डेलाई निर्वाचित गरेको छ । त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा सञ्चालक चुनिएका छन् ।
सञ्चालक समितिको बैठकले प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको बताइएको छ ।