उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।