एउटै गाउँबाट ५ करोडको सुन्तला विक्री

पर्वत (अस) । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करीब रू. ५ करोडको सुन्तला विक्री गरेका छन् । अनुकूल मौसमका कारण यस वर्ष सुन्तला खेती फस्टाएकाले किसानले राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला विक्रीबाट गाउँमा राम्रो आम्दानी गरेको सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । सुन्तला विक्रीबाट गतवर्ष यो गाउँमा ३ करोड भित्रिएको थियो । ‘बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा विक्री गर्दै आएका छौं,’ खत्रीले भने, ‘पोखरा, मुग्लिन, नारायणगढ लगायत बजारबाट व्यवसायी सुन्तला खरिद गर्न आए, माग पूरा गर्नै सकिएको छैन ।’ उनका अनुसार ढिलोगरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ । बाँसखर्कमा खाद्यान्न र अन्य फलफूल उत्पादन हुँदैन । धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले बढी फाइदा हुने भएपछि किसानले सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । ‘पाँच लाख रुपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्,’ अध्यक्ष खत्रीले भने, ‘१९ लाखसम्म आम्दानी गर्ने किसान समेत छन् ।’ सुन्तला विक्रीबाट आफूले यस वर्ष करीब १३ लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए । यो गाउँमा सबैभन्दा बढी सुन्तला भक्तबहादुर पाइजाले विक्री गर्छन् । सुन्तलाबाट यस वर्ष झन्डै १६ लाख आम्दानी हुने उनले बताए । सुन्तलाको कमाइले बजारमा घरघडेरी नजोडेका किसान निकै कम छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र ‘अफसिजन’मा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताइन् । तर अधिकांश सुन्तला बोटबाटै विक्री हुने भएकाले अहिले भण्डारण गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तलाखेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले बताएको छ । यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तलाखेतीमा लागेका छन् । पहिले यहाँ कोदो र मकैखेती बढी हुन्थ्यो । अहिले खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ ।