राष्ट्रिय चाड चुनाव

यो देवभूमि नेपालमा चाडबाड र उत्सव नमनाएको त दिन नै हुँदैन । प्रत्येक वर्ष मनाइने हरेक क्षेत्र, हरेक जातिका चाडपर्व कम्ती रमाइला हुँदैनन् । देवका पनि देव महादेव भनेजस्तै चाडको पनि चाड यो महान् चाड भने पाँच–पाँच वर्षमा आउँछ । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् । तपाईं हाम्रो चाडको सम्बन्ध खोज्नुभयो भने कुनै पुराण वा धार्मिक कथासम्म पुग्नैपर्छ । तर पछि थपिएको यो नयाँ चाड चाहिँ पुराण होइन, राजनीतिसँग जोडिएको छ । अनि स्वर्गका देवतासँग होइन, धर्तीका देवतातुल्य नेतासँग सम्बन्ध राख्छ । यसको नाम हो– चुनावी पर्व । यो चाड पूरै देशैभरि मनाइन्छ । चुनावी पर्व ती सबै वर्गका मानिसले मनाउँछन्, जसको उमेर १८ वर्ष कटेको हुन्छ । चुनाव देउता यो पर्वको प्रमुख देउता मानिन्छन् । चुनाव देउता आफ्नो प्रचार प्रसार गर्न अरू सानातिना देउताहरूलाई आह्वान गर्छन् । यी प्रमुख चुनाव देउताले अह्राए अनुसार विभिन्न गतिविधिमार्फत जनताको मन लोभ्याउने काम गर्छन् । चुनाव देउता इन्द्रको सिंहासन प्राप्त गर्न साम, दाम, दण्ड, भेद सबै खाले नीतिको प्रयोग गर्न चुक्तैनन् । यो पर्व मनाउने खास ऋतु नै त तय छैन । चुनाव पर्वको समय घोषणा गर्ने अधिकार सरकारसँग छ । त्यही घोषणा अनुसार जुनसुकै ऋतुमा पनि यो चाड पर्न सक्छ । तर बर्खा र हिउँ पर्ने ऋतुमा चुनाव पर्व पारिने गरेको छैन । चुनाव पर्वको आगमनमा प्रत्येक व्यक्ति झुमेर गाउँछ । सडक, गल्ली, कुना कुनामा समेत लाउड–स्पीकर बज्न थाल्छन् । ठाउँ ठाउँमा चुनाव देउताहरूका पोस्टर टाँसिन्छन्, अनि कति कति केजीका माला लगाइदिने प्रतिस्पर्धा नै हुन्छ । जुलुसहरू निकालिन्छन् । शोभायात्रा, रोड–शो, आमसभा, कोणसभा, जुलुस, र्‍याली आदि नामका गाईजात्राहरू प्रदर्शन गरिन्छन् । मासु, भात, भोजन नैवेद्य पस्किइन्छन् । बियर, ह्विस्कीका बिर्को फुकालेर जल चढाइन्छ । यसबाट मदिरा कम्पनीका देउताहरू पनि खुबै प्रशन्न देखिन्छन् । शोभायात्राहरूमा प्रायः सबै जात, धर्म, वर्ग र दलका युवा खुबै उत्साहका साथ भाग लिन्छन् । सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन् । देवताको पूजामा देउताको भक्ति गान हुन्छ  । चुनावी पर्वमा चुनावी देउताहरू केही दिन जनताको भजन गाउँछन्, अनि पाँच वर्षसम्म आफ्नो बारेमा भजन सुनेर आनन्द लिन्छन् । केही दिन आफ्नो न्वारनदेखिको बल लगाएर जनतालाई सपनामा भुलाउन सफलता प्राप्त गर्छन् । चुनाव देउता भोलाभाला जनतालाई आश्वासन नामक थुप्रै वरदान पनि दिन्छन् । यसरी देउताहरू आफूलाई दानवीर कर्णका अवतारका रूपमा प्रमाणित गर्ने प्रयास गर्छन् । तर यिनका वरदान कसै कसैलाई मात्र लाग्छ । प्रत्येक देवताको चिह्न अलग भएजस्तै यो चाडमा भाग लिनेहरूको पनि निश्चित अलग अलग चिह्न हुन्छ । निश्चित रङका कपडा हुन्छन् एवं निश्चित रङका ध्वजापताकाका साथ उनीहरू प्रत्येक गल्ली, चोकमा देखिन्छन् । यो चाडमा कतै गुण्डागर्दी त कतै कानून उल्लंघन नामक सडक नाटकहरू खुब देख्न–सुन्न पाइन्छन् । यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् । केही समययता चलचित्रतिर अभिनय गर्नेहरू पनि यो चाडमा विभिन्न भूमिकामा बढाबढमा भाग लिन थालेका छन् । कहिले कम्मर मर्काउने त कहिले कसैलाई थर्काउने वा जन देउताहरूलाई फकाउने भूमिकामा । चुनावका मुख्य देउताहरूका बुझाइमा यी हाउभाउवालाहरूका कारण आफ्नातिर भीड बन्छ र सभा सभ्य नभए पनि भव्य चैं पक्कै हुन्छ । एक किसिमले यिनको काम मदारीको जस्तै हुन्छ । अझ धन–बलका कारण चुनाव जयन्तीको खुशी डबल धमाका हुन पुग्छ । चुनावी पर्वको मुख्य आकर्षण नै पुरस्कारहरूको वितरण हुने गर्छ । यी पुरस्कार दिनको उज्यालोमा नभई रातिको अँधेरोमा लुकिछिपी दिइने गरिन्छ । पुरस्कार किन दिइन्छ, यो गोप्य नै रहन्छ । पुरस्कार वितरण गर्ने चुनाव देउतासँग मुद्रा द्रव्य कहाँबाट आउँछ र कसरी वितरण गरिन्छ भन्ने जस्ता कुराहरू यो चाडको झिलिमिलीमा त्यत्तिकै हराएर जान्छ । एकै रातमा मतपत्र सर्लक्कै उल्ट्याउन सक्ने खुबी यो पुरस्कारमा हुन्छ । चुनाव जयन्ती मनाउन कतिपय ठाउँहरूमा तोडफोड पनि गरिन्छ । हुलदंगा, अस्त्रशस्त्र, धक्कामुक्का आदि पनि चल्छन् नै । कहिलेकाहीँ त चुनावी देउताहरूका फोटो छापिएका पन्नाहरू राखिएका बाकस नै साटफेर वा गायब समेत पारिन्छ । अझ यो चाडमा रमाइलो त मिडियातिर देखिन्छ । प्रायः सबैखाले मिडियामा अरू सबै प्रकारका समाचारहरूलाई किनारा लगाएर, मानौं अरू कुनै विषय नै छैनन् भनेसरी केवल यै पर्वको विषयमा, यो शुरू हुनु धेरै पहिलेदेखि नै पल–पल खबरहरू प्रसार गरिरहन्छन् । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् । यसरी यो चाडमा चुनावी देउतालाई आह्वान गरिन्छ र वरदान मागिन्छ । चुनावी देउता पनि के कम ? मागहरू कहिले तत्कालै त कहिले आश्वासनका वरदान दिएर पूरा गरिदिन्छन् र त्यहाँबाट अन्तरध्यान भइहाल्छन् । पहिलाका देवताजस्तो वरदान मौखिक मात्रै हुँदैन । वरदानको  घोषणापत्र नै हुन्छ र यस्तो वरदान खासमा कसैले पाउँदैनन् । पाँच पाँच वर्षमा यसलाई दोहोर्‍याउने चैं गरिन्छ । ससाना केटाकेटीलाई चुनाव जयन्तीसँग कुनै लेनदेन हुँदैन । उनीहरूको जीवन यी चाड पर्वहरूबाट टाढा भए पनि यो चाड सकिएपछि देउताहरूका नाम किताबहरूमा पढ्नुपर्ने, नाम कण्ठ पार्नुपर्ने बाध्यता उनीहरूलाई आइलाग्छ । त्यस हिसाबले प्रत्येक व्यक्ति यो पर्वसँग जोडिएकै हुन्छ । यो मनाउन सबै जाति धर्मका मानिसहरू भेला हुन्छन् । सबै आआफ्ना काम–साम छाडेर एउटा नयाँ काममा जुट्छन् । सबै बेरोजगारहरू पनि आआफ्नो खोपीबाट निस्किएर सडकमा आएका भेटिन्छन् । उनीहरू सबै आफ्ना आफ्ना चुनावी देउताका लागि आशिर्वाद माग्न त्यहाँ आउँछन् । यस क्रममा चक्काजाम, पसलहरू बन्द हुने जस्ता कुराहरू त सामान्य नै भए । तर असामान्य चैं के छ भने यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् । यो चुनाव पर्व देशको विधि विधान अनुसार लोकतान्त्रिक हुनुको एउटा प्रतीक पनि हो क्यारे । तर यहाँको लोकतन्त्र अन्तको जस्तो होइन, यो लोकतन्त्रको नयाँ भेरिएशन ठोकतन्त्र चैं हो । तैपनि हामी सबै यो पर्वलाई सौहार्द र खुशीका साथ मनाउने कसम खाएर यसलाई सर्वजन हिताय सर्वजन सुखाय बनाउनै पर्छ । हरेक पाँच वर्षमा आउने यो पर्वले सबैको जीवनमा नयाँ स्फूर्ति ल्याओस् ! र, प्रत्येक चुनावी देउताले हामीलाई विगतमा झैं यसरी नै निरन्तर शुभ आशिर्वाद प्रदान गरिरहून् ! अनि यस्तो चुनावी देउतालाई हामीले पूजाभुजा दिने होइन, तिनबाट लिने वातावरण बनाउन पाइयोस् । चुनाव पर्वको सबैलाई शुभकामना !

सम्बन्धित सामग्री

हे युवा, छौ कता?

बोलाउँदै छ निर्वाचनले मताधिकारको उपयोगका खातिर। हे युवा, छौ कता? सही निर्णयका लागि सुसूचित छौ नि, होइन र? सबै जाति, धर्म, वर्ग अनि लिंग लोकतन्त्रको चाड हो चुनाव। गराैँ मताधिकारको प्रयोग हाम्रा होइन, राम्रालाई जिताउन अब।। को–को उठे, के–के भने तिनका के हुन्, कर्तव्य र अधिकार? यो सबै जाँच–पड्तालको तिम्रै हो है अख्तियार।। बग्रेल्ती छन् […]

नतातेको चुनावी माहोल

प्रतिनिधि एवं प्रदेशसभाको चुनाव (मंसिर ४) आउन केही साता मात्र बाँकी छ। चाड र मध्य खेतीपातीको समय भएकाले होला, चुनावी माहोल तातिसकेको छैन।...

चुनाव पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुन्न : प्रमुख आयुक्त थपलिया

काठमाण्डाै – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ । दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आज साेमवार शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले चुनाव विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताउनुभयाे । उहाँले आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदातामा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरि निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गर्नुभएको छ । &lsq...

चुनाव पद‚ पैसा र प्रलोभनबाट प्रभावित हुनुहुँदैन : थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन्। दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना गरेका छन्। &ls

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। प््रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धन दलकै सरकार बन्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धन धाँधली गरेर चुनाव जित्ने दाउमा रहेको आरोप लगाएका छन्। माओवादी अध्यक्ष प्रचण्डले मधेसमा भ्रम,झुटा आश्वासन दिने पार्टीहरु फेरि बलियो हुन थालेका टिप्पणी गरेका छन्। ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पुलिसको चाड र चुनाव लक्षित सुरक्षा योजना सँगसँगै

चाडपर्व सकिए लगत्तै निर्वाचनको माहोल शुरु हुने र दशैँमा घर जानेहरुले पनि चुनावको विषयमा बहस, छलफल गर्ने भएकाले दुवै विषयलाई ध्यानमा राखेर सुरक्षा योजना लागु गर्ने भएको हो ।

चुनाव र चाडबाडले नरोकिएका पाइला

२९ भदौ, गौरीफन्टा । चाडबाड र चुनाव नजिकिएकाले मुलुक एकसाथ दुई ठूला उत्सवमा होमिंदैछ । घरभन्दा टाढा रहेकाहरू दशैं, तिहार, छठ, नेपाल सम्वत्, उभौली, क्रिसमस जस्ता ठूला चाड मनाउन गाउँ फर्कने योजना बनाउन थालिसकेका छन् । यसटक भने चाडबाडसँगै आमनिर्वाचन पनि हुँदैछ । ४ मंसिरमा चुनाव हुने भएकाले सरकार, निर्वाचन आयोग र दलहरुको (स्वतन्त्र उम्मेदवार […]

दशैंभन्दा ठूलो चाड चुनाव पो रैछ

चुनाव लोकतन्त्रका लागि एउटा महोत्सव हो। जनतालाई संविधानले दिएको नैसर्गिक अधिकार पनि हो। चुनावको परिभाषासहित लोकतन्त्रको विषयतर्फ लाग्न मलाई मन छैन। किनकि मैले चुनावलाई बैग्लै तरीकाले महसुस गरें।

दसैँ भ्याउन छिटोछिटो मत गनिँदै

दुई दिनपछि नेपालीहरुको महान चाड दसैँ सुरु हुदैँछ। बिहिबार दसैँको घटस्थापना छ। त्यही दसैंमा घर जान तेस्रो चरणमा स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा खटिएका कर्मचारीलाई हतार छ। त्यसैले दसैँअगाडि जतिसक्यो छिटो मतगणना सकेर परिवारसँग समय बिताउने चाहनाले उनीहरुलाई मतगणना छिटो सक्ने दबाब छ। रौतहटको गरुडा नगरपालिकामा खटिएका निर्वाचन अधिकृत नविनकुमार जोशीले गए रातिबाट…