नेपाली कांग्रेसले पूर्वाधार विकास बैंकलाई पूर्वाधार आयोजनाको वित्तीय व्यवस्थापनका लागि नोडल एजेन्सीको रूपमा विकास गर्ने भएको छ । हाल नेपालमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मात्र पूर्वाधार विकास बैंकको रुपमा रहेको छ ।कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा यस बैंकलाई पूर्वाधार आयोजनाको वित्तीय व्यवस्थापनका लागि नोडल एजेन्सीको रूपमा विकास गर्ने उल्लेख गरेको हो। घोषणापत्रमा भनिएको छ 'नेपाली कांग्रेसले बनाउने राष्ट्रिय पूर्वाधार रणनीतिमा आयोजनाको पहिचान, प्राथमिकरण, पाइपलाइन, लगानीका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना, निगरानी तथा मूल्याङ्कन जस्ता बिषयहरूलाई समेट्दै पूर्वाधार विकास बैंकलाई पूर्वाधार आयोजनाको वित्तीय व्यवस्थापनका लागि नोडल एजेन्सीको रूपमा विकास गरिने छ ।'त्यस्तै कांग्रेसको घोषणापत्रमा नेपाल राष्ट्र बैंकलाई डिजिटल मुद्राको उपादेयताबारे अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै गहन सम्भाव्यता अध्ययन गराइने उल्लेख छ ।कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने भएको छ । घोषणापत्रमा पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने पहल लिइने उल्लेख छ। त्यस्तै कांग्रेसले धितोपत्र सम्बन्धी ऐन तथा कानूनहरूमा सरोकावालाहरूसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन कानून तथा विनियमावलीहरूमा समसामयिक सुधार गर्ने उल्लेख गरेको छ । साथै नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ ।त्यस्तै पूर्वाधार बन्ड मार्फत् सडक, ऊर्जा र विमानस्थल जस्ता परियोजनाहरुका लागि पुँजी जुटाइने र आम नेपाली, गैरआवासीय नेपाली, संस्थागत लगानीकर्ता तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रोत्साहन र सहुलियत दिइने कांग्रेसले उल्लेख गरेको छ । यसैगरी संचालन तथा व्यवस्थापनमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याई ‘भायविलिटि ग्याप’ पूर्ति गर्न ठोस नीतिगत व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन कम्पनी तथा व्यक्तिहरूलाई आयकरमा सहुलियत र सेवा शुल्कमा अनुदान दिइने घोषणा पनि कांग्रेसले गरेको छ ।