असार ७, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यावसायीले कर तथा शुल्क मिनाहाको माग गरेका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि पटकपटक लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।
व्यावसायीले होटल, पार्टी प्यालेस र पर्यटन व्यवसायको सम्पत्ति कर, घरवाहल कर र व्यवसाय कर मिनाह गर्न महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । व्यावसायीले सरसफाई शुल्कसमेत मिनाह हुनुपर्ने बताएका छन् ।
भारतीय सिमानासित जोडिको वीरगञ्ज र आसपासका क्षेत्रका होटल र पर्यटकीय क्षेत्र कोरोना महामारी शुरु भएदेखि नै संकटमा परेको संघका अध्यक्ष हरि पन्तले बताए ।
२०७६ चैत ११ देखि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा ६ महीनामा खुले पनि सिमानाबाट आवागमन सहज नहुँदा व्यवसाय तंग्रिन नसकेको र पुनः गतवैशाखदेखि लगाइएको निषेधाज्ञाले मारमा परेको पन्तको भनाइ छ ।
विगतमा बन्दान्दी खुले पनि सरकारले लामो समयसम्म सिमाबाट सवारी आवागमनमा रोक कायमै राखेको थियो । कोरोना महामारीका कारण उत्पन्न संकटले ऋणको ब्याज, किस्ता र भाडामा रहेका होटलहरुले घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको व्यावसयीको गुनासो छ ।
होटल तथा पर्यटन क्षेत्रमा कार्यरत सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि संघले माग गरेको अध्यक्ष पन्तले बताए ।
संघको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कोरोना महामारीका कारण होटल तथा पर्यटन क्षेत्रले भोगेको समस्याप्रति आफू सम्वेदनशील रहेको बताए । व्यावसायीमा माग यथासक्य सम्बोधन गर्ने आश्वासन पनि उनले दिए ।