दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने सहमती

भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताउनुभएको छ । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उहाँहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत हुनुभएको छ । निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो ।