फोहोर व्यवस्थापनमा सफलता (सम्पादकीय )

मध्यपुर थिमी नगरपालिकाले फोहोर व्यवस्थापनमा नमूना सफलता प्राप्त गरेको छ । घरबाट निस्कने फोहोरबाट जापानी प्रविधि प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गरेर फोहोर व्यवस्थापनमा नगरपालिकाले सफलता प्राप्त गरेको छ । दुई वर्षअघि फोहोर व्यवस्थापन गर्दै जापानी कम्पोष्ट प्रविधिबाट विना रसायन प्राङ्गारिक मलको सफल उत्पादन गरिएको हो । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रूपियाँमा धमाधम बिक्री भइरहेको छ । उक्त मल कृषकमाझ लोकप्रिय बन्दै गएको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ । मल दूषितरहित भएको प्रमाणित भएकाले राष्ट्रपति कार्यालय परिसरको बगैँचामा पनि प्रयोग गरिएको छ । नगरपालिको वडा नं. ४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोष्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ ।