काठमाडौं (अस) । नेपालको पहिलो अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोले हालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको उपाय सिटी कार्गोले हालसम्म काठमाडौं, बुटवल, भैरहवामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।
सेवा विस्तारकै क्रममा प्रदेश १ मा विराटनगरबाट आफ्नो सेवा विस्तार गरिएको कम्पनीका मेनेजिङ डाइरेक्टर सुमन रायमाझीले बताए । कम्पनी अनलाइन ढुवानी सेवा मार्फत प्रविधिमार्फत व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । ग्राहकले ढुवानी सेवा लिनका लागि मोबाइलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरी आफ्नो विवरण राखेर साइन अप गर्नुपर्नेछ । ग्राहकले वेबसाइट, कल सेन्टर अथवा ईमेल मार्फत रिक्वेस्ट गरेर समेत सेवा लिन सक्ने कम्पनीले बताएको छ । ग्राहकको रिक्वेस्ट आएपछि एपमा आबद्ध भएका चालकको फोनमा स्वतः म्यासेज जानेछ । त्यसपछि चालकले आफै रिक्वेस्ट एक्सेप्ट गर्न मिल्नेछ ।
उपाय सिटी कार्गोको ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म पुर्याउन दुई महीना अगाडिदेखि नै काम शुरू गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिए । हालसम्म देशभरबाट ३०० चालक र ७०० संस्थागत सेवाग्राहीले सेवा लिएको कम्पनीले बताएको छ । उपाय सिटी कार्गोमार्फत दुई किलोमिटर दूरीसम्म सामान ढुवानीका लागि ६०० रुपैयाँ लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने विराटनगरका लागि फ्रेन्चाइज पार्टनर दाहालले बताए ।