पशुपति क्षेत्र विकास कोषद्वारा आनन्द बतास र ओस्कर बतासका नाउँमा सम्झौता रद्द बारे सूचना जारी

चैत २१, काठमाडौ । पशुपति क्षेत्र विकास कोषले आनन्द बतास र ओस्कर बतासका नाउँमा सार्वजनिक सूचना जारी गरेको छ । नेपाल- भारतमैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने सम्झौतामा विभिन्न शर्तहरु पालना नगरेको भन्दै कोषले ३५ दिनभित्र स्पष्टीकरणसहितको जवाफ पेश गर्न माग गरेकोमा उक्त कम्पनीबाट कुनै जवाफ नआएको बताएको छ । कोषले धर्मशाला भवनलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिई करार उल्लंघन गरेको तथा सम्झौताको प्रावधान विपरित थप निर्माण एवं जडान गरी सम्झौता  उल्लंघन गरेको, शर्त अनुसारको  भाडा रकम नबुझाएकोले सम्झौता रद्द गरेको बताएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को माघमा बसेको बैठकले कम्पनीलाई स्पष्टीकरणसहितको जवाफ पेस गर्न गत फागुन १ गते कम्पनीलाई पत्राचार गरेको थियो । उक्त समयअवधिभित्र भित्र पनि कम्पनीले कुनै जवाफ नदिएपछि कोष सञ्चालक परिषद्ले सम्झौता यहि चैत १७ गतेबाट लागू हुने गरी रद्द गर्ने निर्णय गरेको छ ।  साथै कोषले सम्झौता रद्द गरेको जानकारी गराएकोमा कम्पनी तथा प्रतिनिधिले सम्झौता रद्द बारेको पत्र बझी नलिएको पनि बताएको छ ।