भारतबाट लगानी पलायन रोकिएन, फेब्रुअरीमा बाहिरियो ९६ अर्ब भारतीय रुपया

काठमाडौं । भारतीय शेयर बजारले विदेशी लगानीकर्ताहरूलाई टिकाइराख्न सकेको छैन । त्यहाँको शेयर बजारबाट विदेशी लगानीकर्ताहरूले लगानी फिर्ता लागे क्रम यो महीना पनि जारी छ । अन्य उदीयमान बजारको तुलनामा भारतीय शेयर बजारमा शेयरको भाउ उच्च भएकोले विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई)हरूले समीक्षा अवधिमा ९६ अर्ब भारतीय रुपया बराबरको लगानी फिर्ता लगेका छन् । जनवरीमा पनि २ खर्ब ८८ अर्ब ५२ करोड भारतीय रुपया बराबरको एफपीआई बाहिरिएको थियो । जनवरीको एफपीआई बहिर्गमन सात महीनायताकै सबैभन्दा खराब थियो । डिसेम्बरमा भने खुद लगानी १ खर्ब ११ अर्ब १९ करोड भारतीय रुपया थियो भने नोभेम्बरमा खुद लगानीको आकार ३ अर्ब ६२ अर्ब ३८ करोड भारतीय रुपया थियो । भारतीय केन्द्रीय बैंकले धमाधम रिपोदर बढाउन थालेपछि भारतीय शेयर बजारबाट एफपीआई पलायनका कारण बजारमा अस्थिरता कायमै रहने विश्लेषण गरिएको छ । भारतीय अर्बपति व्यापारी गौतम अदानीको प्रकरणका कारण पनि समस्या बढेको छ । सो समस्यामा स्पष्टता देखिएर बजार स्थिर नबन्दासम्म एफपीआई बाहिरिने क्रम जारी रहने अनुमान छ । लगानीकर्ताहरूले भारतीय अर्थतन्त्रमा स्थिरताको ठोस संकेत खोजिरहँदा पनि लगानी बाहिरिने क्रम रोकिएको छैन । अन्य उदीयमान बजारको तुलनामा भारतीय शेयरको उच्च मूल्यांकनका कारण पनि लगानी पलायन लगातार दोस्रो महिना पनि जारी रहेको हो । भारतबाट लगानी झिकेर एफपीआईहरूले ताइवान, दक्षिण कोरिया, जापानलगायत अन्य बजारमा लगानी खन्याइरहेका छन् । गएको वर्ष अन्त्यमा कोभिडका कारण लगाएको प्रतिबन्धहरू हटाएर सीमा खुला गरेपछि चीनमा विदेशी लगानी ओइरिन थालेको छ । कोभिड नियन्त्रणको समयमा चिनियाँ शेयर घटेर सस्तो बनेपछि लगानीकर्ताहरूमा त्यहाँ लगानीको आकर्षण बढेको छ । यो महीना भारतबाहेक थाइल्यान्ड र फिलिपिन्सबाट एफपीआई बहिर्गमन बढेको छ भने दक्षिण कोरिया, ताइवान र इन्डोनेयिशामा लगानीकर्ताको आकर्षण बढेको छ । एजेन्सी