प्रतिनिधि सभा विघटनका आधार

प्रधानमन्त्रीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन भएपछि अहिले यो कार्य संवैधानिक कि असंवैधानिक भन्नेहरूमा जनमत विभाजित भएको छ । यसबारे अदालतमा बहस जारी छ । नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणाली सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । संविधानको धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको उल्लेख छ । धारा ७४ मा नेपालको शासकीय स्वरूप संसदीय शासन प्रणाली हुने र धारा ७५ मा नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानुनबमोजिम मन्त्रिपरिषद्मा रहने व्यवस्था गरिएको छ । यो संसदीय शासन प्रणालीको प्रमुख विशेषता हो । संसदीय शासन प्रणाली सर्वोत्तम प्रणाली होइन तर अहिलेसम्म यसभन्दा राम्रो शासन प्रणाली प्रयोगमा नआएकोले विश्वका अधिकांश देशले यसैलाई अँगालेका छन् । तर परिस्थितिअनुसार प्रत्येक देशमा केही विभिन्नता पनि छ ।