आईपीओ निष्कासन गर्दै फोनपे पेमेन्ट सर्भिस, पूर्वतयारीका लागि एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्न तयारी शुरू गरेको छ । त्यसका लागि फोनपेले एनएमबि क्यापिटलसँग सम्झौता गरेको हो । एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ । यो सम्झौतासँगै एनएमबि क्यापिटलले फोनपेलाई आईपीओ जारी गर्न आवश्यक पूर्वतयारीका लागि सघाउनेछ । पूर्वतयारीको काम सकिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि मात्रै फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्नेछ । फोनपे आईपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी बन्नेछ । सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबिसँगको सम्झौताले आईपीओ निष्कासन गर्न सहज हुने बताए । हामीले साधारण शेयर जारी गर्ने मात्रभन्दा पनि प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरूलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौं । यसलाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्नका लागि एनएमबि क्यापिटलसँग सहकार्य गर्न लागेका हौं,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘फोनपे सर्वसाधारण जनताको सेवामा समर्पित छ । यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलाई थप बल पुग्नेछ ।’ फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ । फोनपे नेटवर्कमा ५८ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्य छन् । यसमा १ करोड ८० लाखभन्दा बढी सेवाग्राही र १२ लाखभन्दा बढी मर्चेन्टहरू आबद्ध छन् । यसले दैनिक रू. ७ अर्बभन्दा बढीको नगदरहित कारोबारलाई सहजीकरण गरिरहेको छ ।