म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए ।
‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । रासस