मानवलाई आवश्यक पर्ने सबै तत्त्व वातावरणबाट प्राप्त हुन्छन् । खाना, श्वासप्रश्वासलगायत अनेकौं कुरामा मानव वातावरण तथा परिवेशमा निर्भर हुन्छ । वातावरण गतिशील हुन्छ यसमा भएका विभिन्न अवयवको असन्तुलनले अन्य तत्त्वको अनुपात तथा योगदानलाइ प्रभाव पार्ने भएकाले एउटामा आएको असन्तुलनले समष्टिगत सन्तुलनमा प्रभाव पार्छ । मानवका हरेक सामाजिक, आर्थिक, भौतिक आदि किसिमका कार्यले वातावरणमा प्रभाव पार्ने भएकोले मानव वातावरणमा असन्तुलन ल्याउने मुख्य कारक तत्त्व बनेको हुन्छ । वातावरणलाई विभिन्न तत्त्वहरूले प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् । त्यस्ता तत्त्वहरू मानवीय तथा गैरमानवीय दुवै छन् । विज्ञान तथा प्रविधिको विकास र औद्योगिक करणले गर्दा वनसम्पदामा चाप परेको छ । विभिन्न देशमा वनसम्पदामा आधारित थुप्रै उद्योग व्यवसाय चलाइएका छन् । उद्योगहरूको स्थापनाका लागि निर्माण सामग्रीका रूपमा पनि वन सम्पदा उपयोगमा ल्याइन्छ । कच्चा पदार्थका रूपमा काठ ल्याउने, यिनीहरूको उपयोग गर्ने, व्यापार गर्नेजस्ता प्रवृत्तिले गर्दा वनसम्पदाको विनाशमा थप बल पुगेको देखिन्छ । वनसम्पदाको विनाशबाट पानीको सतह तल झर्ने, बाढी, पहिरोजस्ता समस्याले पिरोल्ने गरेको छ । वातावरण प्रदूषणकै कारण अनेकौं समस्याको सामना गर्न हामी विवश भएका छौं । हाल प्रदूषणको कारण दिल्लीमा अनिश्चितकालीन विद्यालय बन्द गरिएको छ । गतवर्ष मङ्सिरमा हामीले पनि ४ दिन सार्वजनिक बिदा नै दिनुपरेको थियो । मानवका लागि वातावरण ज्यादै महत्त्वपूर्ण हुने भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्छ ।
विज्ञान तथा प्रविधिको कारण मानव आफ्नो सुविधाका लागि धेरै प्रकारका भौतिक पूर्वाधारको निर्माण गर्न सक्ने अवस्थामा पुगेको छ । यस क्रममा सडक, विद्युत् गृह निर्माणका कार्यहरू महत्त्वपूर्ण छन् । यस्ता कार्यको क्रममा नदीको बहावमा परिवर्तन आउन सक्छ, जसका कारण धरातलीय स्वरूप बिग्रन जान्छ । सडक निर्माण गर्दा प्रकृतिमा समायोजित माटो, ढुङ्गाको अवस्थामा परिवर्तन आउँछ । भूक्षयको सम्भावना बढ्छ, बाढीपहिरोसमेत आउन सक्ने हुँदा वातावरणीय समस्या आउँछ । प्रविधिको विकासले कृषिको आधुनिकीकरणलाई सहयोग पुगेको छ । तर, यस प्रक्रियाले वातावरणीय संकटलाई पनि निम्त्याएको छ । रासायनिक मल, कीटनाशक औषधि, विषादी आदिको प्रयोगले कृषि उत्पादन त निश्चित रूपमा बढेको छ । साथै, माटोमा भएको जैविक उपयोगी तत्त्वहरूको विनाशसमेत भइरहेको छ ।
माटोमा हालिएका विषादी वर्षाको पानीले बगाएर नदीहरूमा पुग्छ, जसका कारण त्यहाँको प्राणीहरूको जीवन समाप्त हुन पुग्छ । यसले पारिस्थितिक प्रणालीलाई समेत असर गरी वातावरणीय समस्या सृजना गराउँछ । मानवले पृथ्वीको गर्भमा रहेको खनिज तत्त्व आफ्नो हितमा प्रयोग गरिरहेको छ । यस्ता पदार्थहरू ठोस, तरल तथा ग्यासका रूपमा रहेका हुन्छन् । तिनीहरूको उत्खनन तथा प्रशोधन आवश्यक छ र मानवले त्यसो गरिरहेको पनि छ । खनिज उत्खनन गरिने क्षेत्रको वरिपरिको वा तथा खेतीयोग्य जमीन नष्ट हुन्छ ।
खनिज पदार्थ प्रशोधनका लागि विभिन्न किसिमका उद्योगहरूको स्थापना गर्नुपर्ने हुन्छ । यस्ले मानवलाई खनिज पदार्थको उपयोगमा सहयोग त पुग्छ । साथै, त्यहाँबाट निस्कने फोहोरले वातावरणमा ठूलो क्षति गराउँछ । त्यहाँको फोहोरका कारण नदी प्रदूषित भई जलचरको जीवनमा असर पुग्छ । हाल हरेक देशका कुनाकाप्चामा सवारीका साधनको चाप बढ्दो छ, जसबाट मानवले सुविधा पनि लिएको छ तर यसले वातावरणीय समस्याको सृजना पनि गराइरहेको छ । सवारीसाधनको इन्धनले गर्दा वायुप्रदुषणको मात्रा विगतको तुलनामा वृद्धि भएर गएको छ । खासगरी शहरी क्षेत्रमा वायुप्रदूषणको असर ज्यादा रहेको छ । बढ्दो यातायातको साधनको कारण शहरी क्षेत्रमा ध्वनिप्रदूषणको समेत ब्यापक रूपमा वृद्धि भइरहेको छ । वायुप्रदूषणले अनेकाैं प्रकारका रोग देखा परिरहेका छन् । श्वासप्रश्वाससम्बन्धी रोगको मुख्य कारण भनेकै वायुप्रदूषण बनेको वर्तमान अवस्थामा हामी सबैले वातावरण जोगाउने कार्यमा सक्रिय हुनु जरुरी छ ।
आजको जल्दोबल्दो विषयका रूपमा अगाडि आएको जलवायु परिवर्तन पनि यही वतावरणसँग जोडिएको छ । खासगरी सम्पन्न देश जसले औद्योगिक विकास गरेका छन् उनीहरूले कार्बनको उत्सर्जन बढी गरी वातावरणलाई बिगार्ने कार्य गरिरहेका छन् । गत महीना मात्र विश्वका १९५ देशको सम्मेलन गरी कार्बन उत्सर्जन कम गर्ने सम्झौतामा हस्ताक्षर गरेर समझदारी कायम गरेका छन् । विकसित देशले औद्योगीकीकरण नभएका देशलाइ क्षतिपूर्तिसमेत दिने सहमति गरेको छ जुन सकारात्मक देखिन्छ । जलवायु परिवर्तनका कारण नयाँ रोग तथा अनेकाैं वातावरणीय समस्या आएको सन्दर्भमा उक्त सम्मेलन हुनु ज्यादै उचित देखिन्छ । तर, त्यहाँ भएका सहमतिको कार्यान्वयन भने प्रभावकारी रूपमा हुनुपर्ने देखिन्छ ।
वातावरणसँगै जोडिएको जलप्रदूषणले पनि जटिल समस्या बन्दै गएको छ । नदीमा ढल मिसाउने जुन गलत कार्य छ, त्यसले जलप्रदूषणलाइ बढाएको छ । कृषिमा प्रयोग गरिने विषादी जलप्रदूषण अर्को कारक तत्त्व बनेको छ । मूलत वातावरण प्रदूषण हुनुमा हामीले गर्ने कार्य र प्रकृतिप्रति अनुदार बन्नु नै हो । अनेकौं बहानामा वन विनाश गर्नु, पानीका मुहानको संरक्षणमा ध्यान नदिनु, पेट्रोलियम पदार्थको प्रयोग बढ्नु, कार्बन उत्सर्जन गर्नुजस्ता मानवीय क्रियाकलापका कारण दिनानुदिन वातावरण विनाश हुँदै गएको छ । हामीले प्रकृतिले दिएको सबै वस्तु तथा वातावरणलाई जतनका साथ प्रयोग नगर्नाले थप समस्या देखिएको छ ।
हामीले गर्ने विकास निर्माणका कार्य अगाडि बढाउँदा वतावरण नबिगारी र प्राकृतिक स्रोतसाधन जोगिने गरी मात्र गर्नुपर्छ तब मात्र वास्तविक विकास हुनेछ । वातावरणमैत्री विकासलाई मात्र विकास मान्न सकिन्छ । वातावरण बिगार्ने विभिन्न कारक तत्त्वहरू हुन्छन् ।
बढ्दो सवारीसाधनवाट हुने प्रदूषण कम गर्न सरकारले विद्युतीय सवारीसाधनमा नागरिकको आकर्षण बढाउन कर छूट तथा अन्य सुविधाका कार्यक्रम ल्याउनुपर्छ । खासगरी शहरी क्षेत्रमा ज्यादा प्रदूषण हुनुमा सडक किनारामा भएका रूखबिरुवा सडक विस्तारका नाममा विनाश गर्नु पनि एक हो । मानवलगायत समग्र जीव र वनस्पतिहरूको जीवनसँग जोडिएको वातावरणलाई सबै मिलेर जोगाउनुपर्छ ।
लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।