माघ ९, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ९१ लाख ९१ हजार खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ५ करोड ५४ लाख ९१ हजार रहेको थियो । आइतवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४२ दशमलव ७० प्रतिशत वृद्धि भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ४२ दशमलव २२ प्रतिशत बढेको छ । गत वर्ष रू. ७ करोड ८४ लाख ६७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड १५ लाख ९६ हजार यो नाफा गरेको हो । यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ८५ लाख २३ हजार छ ।
यसवर्ष ९ दशमलव १ प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. ९४ करोड ६१ लाख १५ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २३ दशमलव ३९ प्रतिशत बढेर रू. ९५ करोड ७४ लाख ९ हजार कायम भएको छ । यस अवधिसम्म कम्पनीको शेयर प्रिमियम रू. २४ लाख ७५ हजार र रिटेन्ड अर्निङ रू. ८५ लाख २३ हजार छ ।
गत वर्षभन्दा यस वर्ष ३ प्रतिशत बढी रू. १० अर्ब ३८ करोड ५८ लाख ११ हजार निक्षेप संकलन गरेको कम्पनीले ८ दशमलव ६५ प्रतिशत बढी रू. ८ अर्ब ७ करोड ५७ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ३८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ७१ प्रतिशत पुगेको छ ।