सदनमा सबै पार्टीका सांसदको एउटै स्वर : मिटरब्याज पीडितको समस्या छिटो समाधान गरौं

काठमाडौं । जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।  नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्याज पीडितको न्यायका लागि सरकारको ध्यानार्कषण गराए । उनले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गरे ।  नेकपा (एमाले)को सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताए । उनले भने, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन् । वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन् ।’ नेकपा (माअ‍ोवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ‘पूर्वी तराईबाट हिँडेर मिटरब्याज पीडित काठमाडौं भित्र्याएका छन्, देशका हरेक भागमा मिटरब्याजको समस्या फैलिएको छ । अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् । सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ,’ उनले भने ।   नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौं पुगेको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । ‘मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरूलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।   जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौं आएको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् । ‘नागरिक बाध्यताले मिटरब्याजमा पैसा लिन बाध्य भएका हुन् । मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ,’ उनले भने ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् शुरु हुनेबित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए । ‘पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने ।  नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन् । उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन् ।  स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए । उनले मल, बीउलगायत किसानका समस्या समाधान गर्न माग गरे ।  कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटरब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरूलाई आआफ्नो घर फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए । रासस