काठमाडौं । चालू आर्थिक वर्ष (आव)को फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्बभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार चालू आवको साउनदेखि फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँको व्यापार गरेका हुन् । यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव २६ प्रतिशतभन्दा बढी हो । गत आवको आठ महीनामा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँको व्यापार गरेका थिए ।
चालू आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ७६ हजार ४५३ ओटा बीमालेख जारी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले फागुनमा मात्रै २ लाख ४० हजार १७० ओटा बीमालेख जारी गरी २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले हालसम्म सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनीयरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बीमा, लघुबीमा र विविध बीमालेख विक्री गर्दै आएका छन् । फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले आठ महीनामा ३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
यस्तै दोस्रोमा नेको इन्सुरेन्सले १ अर्ब ९७ करोड ६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९१ करोड २३ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणले बताएको छ ।