चिप अभाव बीच ३ लाख थान कार बनाउँदै टेस्ला शाङ्हाई

असोज १०, साङ्हाई (चीन) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको शाङहाईस्थित कारखानाले यस वर्षको पहिलो ९ महीनामा ३ लाख थान विद्युतीय कार उत्पादन गर्ने अपेक्षा गरिएको छ ।  डेलिभरी गर्नु पर्ने हतारो बीच कम्प्नीले जुलाई–सेप्टेम्बर त्रैमासको अन्त्यसम्ममा ती परिमाणमा कार उत्पादन गर्ने दुई स्रोतहरुले बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले समाचार छापेको छ ।  सो कारखानाले घरेलु र अन्तरराष्ट्रिय बजारका लागि मोडल थ्री सेडान कार र मोडल वाई स्पोर्ट युटिलिटी भेइकल बनाउँछ । यस वर्षको पहिलो आठ महीनामा उक्त कारखानाबाट २ लाख ४० हजार थान कार विक्री भइसकेको छ ।  यीमध्ये कयौंको निर्यात पनि भएको चीनको यात्रुबाहक कार संघको तथ्यांकले देखाएको छ । टेस्लाले कारखानाको उत्पादनसम्बन्धी विवरण सार्वजनिक गरिसकेको भने छैन ।  सो कारखानाले यस वर्ष ४ लाख ५० हजार थान कार बनाउने र यीमध्ये ६६ हजार १०० थान निर्यात गरिने टेस्लाको कारखाना रहेको क्षेत्रका एक अधिकारीले अगष्टमा भनेका थिए । एजेन्सी