आन्तरिक राजस्व विभागमा कार्यसम्पादन सम्झौता

काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झौताको प्रभावकारितामा प्रश्न उठिरहेका बेला बिहीवार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरूबीच आर्थिक वर्ष २०७८÷७९ का लागि कार्यसम्पादन सम्झौता गरे । अर्थ मन्त्रालयको वार्षिक नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभरि रहेका आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूले वार्षिक सम्पादन गर्नुपर्ने कामसमेत समावेश गरी कार्यसम्पादन सम्झौता गरिएको विभागले जानकारी दिएको छ । कार्यसम्पादन सम्झौतामा वार्षिक क्रियाकलाप, परिमाणात्मक रूपमा उल्लेख गरिएको उपलब्धिसूचक, मूल्यांकनका आधार तथा कार्यसम्पादन गर्नुपर्ने समयसीमा समेत उल्लेख गरिएको छ । यसबाट विभागका निर्देशकहरूको कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ र यथार्थपरक हुने बताइएको छ । यसले कर्मचारीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विभागको भनाइ छ । यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरूसँग समेत गरिने विभागका अधिकारीहरू बताउँछन् । यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशकबीच यस्तै प्रकारको वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ । विभागका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्तिप्रसाद पाण्डे, सञ्चालन महाशाखा प्रमुख आनन्द काप्mले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी र सूचनाप्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गरे ।

सम्बन्धित सामग्री