गत वर्ष भन्दा यस वर्ष प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १०% घट्यो

जेठ २, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १ करोड २७ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ११ करोड ३६ लाखमा सीमित भएको हो ।  चालू आवमा कम्पनीको आम्दानी घटेसँगै नाफा घट्न पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ९ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. २१ करोड ५५ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १९ करोड ५४ लाखमा झरेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडामा रू. ३१ करोड ५५ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ६५ करोड ३६ लाख जम्मा भएको छ ।  यो बीमा कोष गत आवको तुलनामा ८ दशमलव ८३ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू। ६० करोड ५ लाख थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको बीमा शुल्क आर्जन भने ५ प्रतिशत घटेको छ ।  गत आवमा कम्पनीले कूल रू।१ अर्ब ५ करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा रू. १ अर्ब १० लाखमा झरेको हो । चालू आवमा कम्पनीले ४ हजार ९०३ जनालाई रू. ४९ करोड ७१ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ७१४ जनालाई रू. ४८ करोड ६० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ६७, मूल्य आम्दानी अनुपात ४३ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. १८९ दशलमव ४३ रहेको छ ।