बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेंडा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेंडा विक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेंडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट विक्री भएपछि बारीमै कुहिन थालेका छन् ।   गत आर्थिक वर्ष करीब ११ लाख किलो गोलभेंडा उत्पादन गरेर विक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेंडाले बजार नपाउँदा भने निकै निरास भएका छन् । गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेंडा विक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि विक्री नभएको बताए । ‘बीउ, गोडमेल, औषधि लगायतमा करीब रू तीन लाख जति खर्च भएको छ,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करीब रू ६ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’  इन्द्रबहादुर पुरीले गत वर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो । गत वर्ष रू दुई लाख २३ हजारको गोलभेंडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुनाए । वैदेशिक रोजगारीबाट फर्किएर गोलभेंडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यस वर्ष ज्याला पनि नउठ्ने जानकारी दिए ।  नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर  गोलभेंडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए । उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए । रासस

सम्बन्धित सामग्री

भैरहवा नाकाबाट भारत निकासी हुन थाल्यो नेपाली गोलभेंडा

भैरहवा नाकाबाट नेपाली गोलभेंडा आधिकारिक रुपमा भारत निकासी हुन थालेको छ । भारतमा गोलभेंडाको उत्पादनमा कमी आइ अभाव हुन थालेपछि नेपाली गोलभेंडाले भारतमा पनि बजार पाउन थालेको हो । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेंडा पनि समावेश गरेको थियो ।

घट्न थाल्यो तरकारीको मूल्य

दसैं सुरु हँुदा आकासिएको तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही बढेपनि सोमबारदेखि घट्न थालेको हो । दसैंको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउलीलगायतका केही बस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।दसैंको […]