ओलीलाई केशव स्थापितले सुनाए काठमाडौँ महानगरमा १ लाख २० हजार भोट ल्याउने सुत्र

काठमाडौँ महानगरपालिकामा नेकपा एमाले आफ्नो विगतको विरासत कायम राख्ने योजनामा छ । एमालेबाट महानगरपालिकाको मेयरमा निर्वाचित विद्यासुन्दर शाक्यले ‘रिजल्ट’ राम्रो दिन नसकेपछि अब को पात्र उभ्याउँदा चुनाव जितिन्छ भनेर अध्यक्ष ओली घोत्लिरहेका छन् । मेयर विद्यासुन्दर शाक्यले पुनः आफू उम्मेदवार बन्न चाहेको बताईसकेका छन् । तर, ओली ‘पोजेटिभ’ देखिएका छैनन् । यद्यपी, शाक्यलाई नै पुनः उभ्याउने सम्भावना भने टरिसकेको छैन ।चैतभित्रै उम्मेदवार टुंगो लगाउन स्थापितको अपिलकाठमाडौंमा एमालेबाट मेयरको टिकट दाबी गरिरहेका एमाले नेता केशव स्थापितप्रति काठमाडौँबासीको ‘सेन्टिमेन्ट’ छ । पूर्व मेयरसमेत रहेका स्थापितले टिकटको आशा गरिरहेका छन् । यसै विषयमा ओलीलाई भेटेर उनले निर्वाचन जित्ने हिसाबकिताब सुनाएका छन् ।मंगलबार साँझपख र बुधबार बिहान स्थापितले ओलीलाई भेटे । तर, स्थापितले भने आफूले टिकटको लविङका लागि नभई काठमाडौँ महानगरसहित देशैभरका स्थानीय तहका लागि पार्टीले बनाउने घोषणा पत्रका विषयमा अध्यक्षसँग छलफल गरेको बताएका छन् ।तर, स्रोतले भने अहिले बागमती प्रदेशसभाको सदस्य छोडेर स्थापित काठमाडौँ महानगरपालिकाको मेयर बन्न खुबै लविङ गरिरहेका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौँकै मेयर बन्न खोजेका थिए । तर, उनले टिकट पाएनन् । टिकट नपाएपछि उनी केही समय निष्क्रिय बसे । नेताहरुले अनुरोध गरेपछि विद्यासुन्दरको घोषणापत्र बनाउने, चुनावी सभाहरुमा भाषण गर्ने गर्न थाले । स्थापितबै बलमा शाक्यले चुनाव जिते ।यसपाली भने शाक्य पार्टीले आफूलाई उभ्याउनेमा अलिक बढी विश्वस्त छन् । त्यसैले पनि उनले चैतभित्रै उम्मेदवार टुंगो लगाउन अध्यक्ष ओलीलाई सुझाव दिएका छन् । चैतभित्रै मेयरको उम्मेदवार टुंगो लगाउँदा १ लाख २० हजार मतसहित चुनाव जित्ने दाबी स्थापितले ओलीसामू गरका छन् ।स्थापितले सुनाएको हिसाबकिताबस्थापितले ओलीलाई काठमाडौँ महानगरमा १ लाख २० हजार मतसहित एमालेका उम्मेदवारलाई जिताउन सकिने योजना सुनाएका छन् । आफूले मेयर जितेको भन्दा २० हजार कम मत ल्याएर विद्यासुन्दर शाक्यले चुनाव जितेको स्मरण गर्दै स्थापितले ओलीसामू जतिसक्दो चाँडो उम्मेदवार तय हुनुपर्ने बताएका छन् । ‘मैले ८४ हजार मत ल्याएर जितेको थिएँ, अहिलेका मेयरले मैलेभन्दा पनि २० हजार कम भोट ल्याएका हुन्’ शाक्यले भनेका छन्, ‘चाँडै उम्मेदवार टुंगो लगाउँदा भोट बढाउन सकिन्छ ।’ गत स्थानीय तह निर्वाचनमा १ लाख ९७ हजार २२७ मत खसेको काठमाडौँ महानगरमा विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । ‘काँग्रेसबाट उम्मेदवार बनेका राजुराजले ४५ हजार भोट पाएका हुन् नि, माओवादीले ९ हजार ल्याएको थियो, यी २ वटाको जोड्दा ५४ हजार भयो’, स्थापितले हिसाब गर्दै भने, ‘माधब नेपालको पार्टीले एमालेको १० हजार काट्छ भन्ने अनुमान गर्दा पनि गत स्थानीय निर्वाचनमा हामीले पाएको भोटमध्ये अझै ७४ हजार भोट छ । चाँडै उम्मेदवार टुंगो लगाउँदा यो संख्या १ लाख २० हजारसम्म पुर्याउन सकिन्छ । मतदाता थपिएका पनि छन्, त्यसैले अरु सबैले गठबन्धन गरेर आउँदा पनि एमालेलाई काठमाडौँ महानगरमा चुनाव जित्न गाह्रो छैन ।’स्थापिथले २०५४ सालमा आफूले मेयरमा जित्दा पनि पार्टी फुटेकै अवस्थामा ८४ हजार मत ल्याएको स्मरण गराएका छन् । ‘ल मानौँ एमालेको ७४ हजार भोट छ, त्यो त स्पष्टै हो नि’ उनले भने, ‘अब चाँडै उम्मेदवार टुंगो लगाउँदा के हुन्छ भने उम्मेदवार हरेक वडामा पुगेर बास बसेरै चुनावी अभियान चलाउन सक्छ, एउटा वडामा एक रात बसेरै भोट माग्न सक्ने समय भयो भने अर्को ३० देखि ४० हजार मत थपिन्छ, म उम्मेदवार भएँ भने धेरै चाहिँ भन्दिनँ, १ लाख २० हजार मत ल्याउँछु, यो खुशी मसँग छ भन्या ।’