काँकडभिट्टा आईसीडी सञ्चालन

नवनिर्मित काँकडभिट्टा सुक्खा बन्दरगाह (आईसीडी) आइतवारबाट नेपाल इन्टरमोडल विकास समिति आफैले सञ्चालन गरेको छ । यसअघि उक्त बन्दरगाह सञ्चालन गर्न दुई पटकसम्म अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । समितिले आह्वान गरेको पहिलो बोलपत्रमा तीनवटा कम्पनीले आवेदन गरे पनि कुनै पनि कम्पनी छनोट हुन सकेनन् । दोस्रोपटक भने एउटै आवेदन परेन । त्यसपछि अहिले ३ महिनाका लागि समिति आफैले सो बन्दरगाह सञ्चालन गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले अभियानलाई बताए । ‘केही समयपछि पुन: अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने । नेपाल सरकार र ऋण प्रदायक संस्था एशियाली विकास बैंक (एडीबी) बीच सन् २००५ जनवरीमा भएको सम्झौतामा बन्दरगाहको निर्माण सम्पन्न भएपछि समितिलाई हस्तान्तरण गर्ने उल्लेख छ । निर्माण कम्पनीले असोज १३ गते नै उक्त बन्दरगाह सरकारलाई  हस्तान्तरण गरेको थियो । साढे सात हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाह एडीबीको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको हो । सम्झौतामा समितिले अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छानिएको कम्पनीलाई सञ्चालनको जिम्मा दिने उल्लेख छ । पछिल्लो केही समयदेखि समितिले नै सञ्चालन  गर्ने वा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भए पनि हालका लागि समितिले आफै सञ्चालन गरेको हो । वर्ष ६, अंक ३३, आइतवार, २४ असोज २०६७