वीरगञ्ज । पर्साका बासिन्दा रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेपछि गृहनगर वीरगञ्जका उद्योगी व्यापारी उत्साहित छन् । राजनीतिमा अनुभवी र औद्योगिक तथा व्यापारिक नगरका रिजालले सो मन्त्रालयको नेतृत्व सम्हालेपछि उद्योग व्यापार क्षेत्रका सरोकार सम्बोधन हुने विश्वास गर्दछन् वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल ।
‘उहाँले वीरगञ्ज र यहाँको उद्योग व्यापारका साथै निजीक्षेत्रका सरोकारलाई राम्ररी बुझ्नुभएको छ । उहाँको कार्यकालमा निजीक्षेत्रका अपेक्षाहरू सम्बोधन हुने आशामा छौं,’ अध्यक्ष अग्रवालले भने, ‘उद्योगी व्यापारीहरूसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले मन्त्रीज्यूबाट पक्कै उद्योग व्यापार अघि बढाउन सहज हुने नीति आउने अपेक्षा निजीक्षेत्रले राखेको छ ।’
मन्त्री रिजालले उद्योग व्यापार निकै समस्यामा परेकाले त्यसको सहजीकरणमा सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अहिले उद्योग व्यापार र अर्थतन्त्र संकटमा छ । यसलाई सही निकास दिनु र संकटबाट माथि उठाउनु मेरो प्राथमिकता हुनेछ,’ पदभार ग्रहण गर्दै उनले भनेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोकुमार टेमानी पर्साका बासिन्दा हुनुका कारण पनि मन्त्री रिजालबाट यहाँका उद्योगपति व्यापारीले धेरै समस्याहरूको समाधान हुने विश्वास लिएको बताउँछन् । ‘उद्यमी व्यापारीलाई पनि नजिकबाट बुझेका र उद्योग व्यापारको केन्द्र वीरगञ्ज क्षेत्रका मन्त्री भएकाले यो क्षेत्रका उद्यमीले स्वाभाविक रूपमा बढी आशा गरेका छन्,’ उनले भने ।
को हुन् रमेश रिजाल ?
मन्त्री रिजाल पर्सा ४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । २०४८ र २०५२ सालमा लगातार निर्वाचित रिजाल २०५६ को आम निर्वाचनमा पराजित भएका थिए ।
२०६४ सालमा संविधानसभा चुनावमा जितेका उनले २०७० को दोस्रो संविधानसभा र २०७४ को संसदीय निर्वाचनमा भने निरन्तर पराजय बेहोरेका थिए । २०७९ मङ्सिर ४ मा भएको चुनावबाट एमालेका उम्मेदवारलाई पराजित गर्दै उनी सांसद चुनिए ।
पर्साको जगरनाथपुर गाउँपालिका–५ (साविक मसिहानी) मा जन्मिएका रिजालले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेका छन् । उनका पिता मेघराज रिजाल २०१५ सालको आम निर्वाचनमा कांग्र्रेसको उम्मेदवार बनेका थिए ।
पारिवारिक राजनीतिक परिवेशबाट प्रेरित भएर राजनीतिमा लागेका रिजाल पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लाग्दा पटकपटक गरेर ३ वर्ष जेल बसेका छन् । नेपाली कांग्रेस पर्सामा विभिन्न जिम्मेवारीमा रहेर नेतृत्व गरेका रिजाल अहिले नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य र मधेश प्रदेश संयोजकसमेत हुन् ।