राजा जयस्थिति मल्ल (१४०३–१४५२) ले समाज सुधारका लागि भारतबाट रघुनाथ झा, रामनाथ झा, कीर्तिनाथ उपाध्याय, महिनाथ भट्ट आदि विद्वान् झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाज स्थापना गर्न र विभिन्न सुधारको काम गर्न लगाए । समाज सुधारका कार्य ऐतिहासिक भए पनि उनले समाजलाई चार जात १८ वर्णमा विभाजित गरी श्रमको विभाजन र विवाहपछि महिलाको थर पुरुषको थरमा बदलिने प्रचलन ल्याए । त्यसले गर्दा समाजमा जात व्यवस्थाको आधारशिला र महिला परनिर्भरता र शोषणमा पर्ने स्थितिको निर्माण भयो । जातजातिसम्बन्धी जयस्थिति मल्लको सुधार व्यवस्था र हिजो जसले जे पेस गरेको थियो, सोही गर्नुपर्ने अनुलङ्घनीय भयो । जस्तो– बाहुनले हलो जोत्न नहुने, शूद्रले पढ्न नपाइने अनि नयाँ पेसा अपनाउन नमिल्ने, वंशानुगत पेसा फेर्न नपाउने नियमका कारण समाजले कपडा सिलाउने, सफाइ गर्ने, भाँडाकुँडा बनाउने, नाचगान गर्ने, जुत्ता सिलाउनेलगायतका तथाकथित शूद्रले गर्ने भनिएको कामलाई तुच्छ सम्झन पुग्यो ।