बजेट सक्न भ्याइनभ्याइ

अछाममा आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । स्थानीय तहमा असारभित्रमा बजेट सक्न भ्याइनभ्याइ भइरहेको छ । विकास निर्माणका लागि छुट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन जनप्रतिनिधि, कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका छन् ।

सम्बन्धित सामग्री

असारे विकासको असर

किसानलाई जसरी असार महिना धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्छ, यही महिनामा विकास निर्माणका काम सक्न त्यसभन्दा बढी हतार हुन्छ सरकारी निकायका लागि । एकातिर बर्खामा पानी परिरहेको हुन्छ भने अर्काेतिर त्यही बेला सडक कालोपत्रे गर्नेदेखि नाली निर्माण गर्नेसम्मका विकास निर्माणका काम सक्ने चटारो जहाँतहीं देखिन्छ । किसान असारको भल छोपी–छोपी ‘मानो रोपी मुरी फलाउने’ काममा व्यस्त हुन्छन् । ठीक यही बेला सरकारी कर्मचारी र ठेकेदारहरू हतार देखाउँछन्, दुनियाँका आँखामा छारो हाल्न । विकास निर्माणका लागि छुट्ट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका हुन् । यसरी यो बेला हतारमा गरिएका यस्ता काम दिगो त हुँदैनन् नै बजेट पनि सदुपयोग हुँदैन । त्यसैले त यसलाई अहिले ‘असारे विकास’ भन्न थालिएको छ । असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझ्न सकिन्छ । र, यही असारे विकासले आर्थिक अनियमितता बढाएको छ । यसरी असार लागेपछि बजेट सक्नकै लागि विकास निर्माणका काममा चासो दिने यो प्रवृत्ति गलत छ जसलाई निरुत्साहित गर्नैपर्छ । यो रोगले कर्मचारीतन्त्र आक्रान्त भए पनि उपचार गर्ने निकायको सक्रियता देखिएको छैन ।