लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई सहयोग

काठमाडौं (अस) । लुम्बिनी विकास बैंकले लुम्बिनी आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रणअम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण सहयोग गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखाको प्रेसर नाप्ने मेशिन) सहयोग गरिएको जानकारी दिएको छ । सोमवार एक कार्यक्रमका बीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोगको अपेक्षा गरे । आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए । बैंकका बजार व्यवस्थापन विभाग प्रमुख खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा गौरव महसूस भएको बताए । आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । बैंकले नाफा कमाउने उद्देश्य मात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो । बैंकले हाल ८६ ओटा शाखामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।