स्याङ्जा । कोभिड–१९ का कारण बन्द रहेका स्याङ्जाका घरबास (होमस्टे) विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमणको जोखिमका कारण बन्द भएका जिल्लाका विभिन्न ठाउँका होमस्टेहरू संक्रमण घटेसँगै पुनः सञ्चालन हुन थालेका हुन् ।
जिल्लाका ११ स्थानीय तहमा स्थापित पुराना तथा नयाँ घरबास कोभिडका कारण ठप्पप्रायः थिए । जिल्लामा दक्षिण एशियाकै पहिलो मानिएको सामुदायिक घरबास (सिरुबारी) सहित अन्य पुराना तथा नयाँ घरबास सञ्चालनमा छन् ।
देशको १०० नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल सिरुबारीमा रहेका होमस्टेहरू कोभिडको जोखिम घटेसँगै फागुन पहिलो सातादेखि सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले बताइन् । ‘कोभिडको पहिलो लहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्ट आयो,’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी रूपमा महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुना आउने क्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरू भएको घरबास हाल २० घरमा सञ्चालित छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट स्वागत गरिन्छ । विशेषगरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढा टाढाबाट पाहुना आउने गर्छन् ।
कोभिडका कारण बन्द भएको फेदीखोला गाउँपालिका–१ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङले बताइन् । ‘घरबासमा आउन देशका विभिन्न भागबाट फोन आउने गरेको थियो,’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई ध्यानमा राखेर पाहुनालाई नआउन अनुरोध गर्दै फर्कायौं, अहिले संक्रमण कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ वालिङ नगरपालिका–४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्यो । दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुना आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन । कोभिडको पहिलो लहरमा पूर्णरूपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर पाहुनालाई नआउन अनुरोध गरिएको होमस्टेका अध्यक्ष डिलविक्रम गुरुङले बताए । ‘कोभिड संक्रमण कम हुँदै गएकाले छिट्टै बैठक बसेर सञ्चालनको निर्णय गर्छौं,’ उनले भने ।
यता, वालिङ–५ मा रहेको पित्लेक देउराली घरबासमा भने पर्यटकको चासो देखिएको छ । ‘घरबास सञ्चालनमा आएसँगै जिल्लाभित्र तथा बाहिरीबाट संघ, संस्था, समूह तथा व्यक्तिहरूको फोन आउन थालेको छ,’ होमस्टेका सचिव तिलक गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तंग्रिन्छ कि भन्ने आशा जागेको छ ।’