नेपालमा विद्युत् उत्पादन वृद्धिसँगै यसको निर्यात गर्ने विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहस प्रारम्भ भएको छ । विश्वका सबैभन्दा वातावरणमैत्री मानिएको हरित ऊर्जाका रूपमा रहेको जलविद्युत् ऊर्जा नेपालका लागि वरदान हो भन्ने विषयमा दुईमत छैन ।
यसै परिवेशमा नेपालमा उत्पादित जलविद्युत्को उपयोगको प्रयोजन के हुने भन्ने विषयमा समेत बहस प्रारम्भ भएको छ । नेपालको प्रतिव्यक्ति विद्युत् खपत अन्यन्त न्यून रहेको र विद्युत्को सहज पहुँचसँगै विद्युतीय उपकरणको प्रयोगको संख्यामा हुने विस्तारसँगै नेपालको जलविद्युत् नेपाललाई नै ठिक्क हुने खालको बहस पनि शुरू भएको छ ।
नेपालमा जलविद्युत्को खपतमा घरायसी उपकरण, उद्योग र यातायात तीनओटा प्रधान क्षेत्रका रूपमा पहिचान भएका छन् । घरायसी उपकरणको प्रयोगमा हुने जलविद्युत् खपतमा भान्साको स्थान महत्र्वपूर्ण हुन्छ । पकाउने, सेकाउने, तताउने र उमाल्ने प्रयोजनमा विभिन्न थरी उपकरण बजारमा उपलब्ध हुन थालेका छन् ।
आधुनिक समाजका अभ्यस्त व्यक्तिहरूका लागि यी उपकरण अपरिहार्य बन्दै आएका छन् । भान्सामा प्रयोग हुने विद्युतीय उपकरणहरू आधुनिकताको पर्याय बन्दै गएका छन् । विप्रेषणसृजित सम्पन्नता र विदेशमा देखे–सिकेका कारण भान्सामा विद्युतीय उपकरणको प्रयोग भविष्यमा अझ बढ्ने देखिन्छ । परन्तु नेपालीका भान्सामा विद्युत् खपतको प्रवृत्ति भने सन्तोषजनक देखिएको छैन ।
नेपालको राष्ट्रिय जनगणना सन् २०११ मा नेपालमा बिजुलीमा खाना पकाउने परिवारको संख्या ४ हजार ५ सय २३ रहेको थियो । यस्तो संख्या सन् २०२१ मा ३२ हजार ५ सय ७४ मात्र रहेको पाइन्छ । प्रतिशतको आधारमा हेर्दा यस अवधिमा बिजुलीमा खाना पकाउनेको संख्यामा करीब ६२० प्रतिशतले वृद्धि भए तापनि संख्याको आधारमा हेर्दा यस्तो घरपरिवारको संख्यामा २५ हजार ५१ जनाको मात्र वृद्धि भएको छ । सन् २०११ मा कुल घरपरिवारमध्ये शून्य दशमलव शून्य ८ प्रतिशत घरपरिवारले मात्र बिजुलीमा खाना पकाउने गरेको पाइएकोमा सन् २०२१ मा यो अंश शून्य दशमलव ४९ प्रतिशत पुगेको छ ।
यस अवधिमा ग्यासको आयातमा भने व्यापक वृद्धि भएको छ । आव सन् २०१२/१३ मा २ लाख ५ हजार २ सय ७० मेटन एलपी ग्यास आयात भएकोमा आव २०२१/२२ मा यो आयात दुई गुणा भन्दा बढीले वृद्धि भई ५ लाख ३५ हजार ८ सय ६५ मेटन पुगेको छ । यस अवधिमा मूल्यको आधारमा हेर्दा आर्थिक वर्ष (आव) सन् २०१२/१३ मा रू. २२ अर्ब ४ करोड मूल्य बराबरको एलपी ग्यास आयात आव २०२१/२२ मा पुग्दा ३ गुणा जतिले वृद्धि भई रू. ६५ अर्ब ५५ करोड पुगेको छ । यस अवधिमा आव सन् २०१४/१५ र २०१५/१६ मा अघिल्ला वर्षहरूको तुलनामा एलपी ग्यासको आयातको वृद्धिदर परिमाण र मूल्य दुवैमा ऋणात्मक देखिएको छ ।
यसैगरी आव २०१९/२० मा एलपी ग्यासको आयातमा अघिल्लो आावको तुलनामा परिमाणमा वृद्धि भए तापनि मूल्यमा भने ह्रास आएको देखिन्छ । सन् २०२१ को जनगणना र सोही वर्ष आयात भएको एलपी ग्यासको आयातको परिमाणको विश्लेषण गर्दा नेपालमा प्रतिव्यक्ति एलपी ग्यास खपत प्रतिव्यक्ति खपत १८.३७ केजी देखिएको छ । सन् २०११ मा यो ७.७५ केजी रहेको थियो । यस अवधिमा प्रतिव्यक्ति एलपी ग्यास खपतमा करीब १३७ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२१ मा २९ लाख ४९ हजार ९ सय ९५ घरपरिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ जो कुल घरपरिवारको करीब ४४ दशमलव २९ प्रतिशत हुन आउँछ । सन् २०११ मा ११ लाख ४० हजार ६ सय ६२ घरपरिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ जो कुल घरपरिवारको करीब २७ दशमलव शून्य ३ प्रतिशत हुन आउँछ । यसरी सन् २०११ देखि २०२१ को अवधिमा एलपी ग्यासका प्रयोगकर्ता घरपरिवारको संख्यामा करीब १५८ दशमलव ६ प्रतिशतको वृद्धि देखिएको छ । १० वर्षको अवधिमा १८ लाख ९ हजार ३ सय ३३ परिवार ग्यासको नयाँ उपभोक्ताका रूपमा थपिएका छन् ।
सारमा भन्नुपर्दा अझै पनि देशको कुल घरपरिवारमध्ये करीब ५१ दशमलव शून्य २ प्रतिशत अर्थात् ३३ लाख ९८ हजार ३ सय १६ घरपरिवारले दाउरामा नै खाना पकाउने गरेको पाइन्छ ।
गुइँठाबाट खाना पकाउने घरपरिवारको अंश २ दशमलव ८८ प्रतिशत रहेको छ । मटितेल र अन्य स्रोतबाट खाना पकाउने घरपरिवारको अंश क्रमशः शून्य दशमलव शून्य ५ प्रतिशत र शून्य दशमलव १ प्रतिशत रहेको छ ।
यसरी कुल घरपरिवारमध्ये ५४ दशमलव शून्य ४ प्रतिशत परिवार अर्थात् ३६ लाख परिवार दाउरा, गुइँठा र मटितेललगायत इन्धनस्रोतबाट खाना पकाउने गरेका छन् । यो ३६ लाख परिवारको अन्तिम गन्तव्य एलपी ग्यास र विद्युत् नै हुन् । एलपी ग्यास जोड्दा एक परिवारले कम्तीमा दुईओटा सिलिन्डर खपत गर्ने अनुमानलाई आधार मान्ने हो भने पनि आगामी केही वर्षभित्र नेपालमा करिव ७२ लाख ग्यास सिलिन्डरको आवश्यकता देखिन्छ ।
सन् २०२१ मा प्रतिघरपरिवार ८० दशमलव ४५ केजी एलपी ग्यासको खपतलाई आधार मान्दा थप ३६ लाख घरपरिवार एलपी ग्यासमा आकर्षित हुँदा थप २ लाख ८९ हजार ६ सय ३५ मेटन आयात गर्नुपर्ने देखिन्छ । यस आधारमा हेर्दा एलपी ग्यासको आयातमा निकट भविष्यमा नै करीब रू. ३५ अर्ब थप हुने सम्भावना देखिएको छ । वर्तमान मूल्य नै कायम रहेमा निकट भविष्यमा नै एलपी ग्यासको आयात रू. १०० अर्ब सजिलै नाघ्ने देखिन्छ ।
यदि नेपालको सम्पूर्ण घरपरिवारका भान्साहरूलाई विद्युत्मा आधारित ऊर्जा प्रणालीमा रूपान्तरण गर्ने हो भने नेपालमा थप ६६ लाख २८ हजार २ सय ६७ घरपरिवारले भान्सामा विद्युतीय उपकरणहरू प्रयोग गर्नुपर्ने हुन्छ । यस आदर्श अवस्थामा देशमा सोही संख्यामा इन्डक्शन चूल्होे, राइसकुकर, हिटर, माइक्रो ओभनजस्ता उपकरणको माग बढ्ने देखिन्छ ।
एउटा इन्डक्शन चूल्होेको बजार मूल्य रू. ५ हजारलाई आधार मान्ने हो भने पनि नेपालमा रू. ३३ अर्बको इन्डक्शन चूल्होको नै कारोबार हुने देखिन्छ । ६६ लाख राइसकुकर, ६६ लाख माइक्रोओभन अनि ६६ लाख फ्रायर जस्ता उपकरणको कारोबारलाई हेर्दा यी वस्तुको कारोबार खर्बको आँकडाभन्दा माथि नै हुने देखिन्छ ।
उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दा नेपालमा भान्सा प्रयोजनमा नेपालमा जलविद्युत्को खपत अति न्यून रहेको छ । त्यसैले सरकारले भान्सामा विद्युत् खपतको राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ । यसका अतिरिक्त भान्साका विद्युतीय उपकरणहरू नेपालमै उत्पादन गर्ने नीति पनि अंगीकार गर्नु आवश्यक छ ।
लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।