एमसीसी नेपालको हित अनुकुल नरहेको खनाल-नेपाल समूहको ठहर

काठमाडौं । नेकपा (एमाले) खनाल–नेपाल समूहले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नरहेको ठहर गरेको छ । संसदबाट पारित गर्न पेश गरिएको विवादित एमसीसी नेपालको स्वतन्त्रता, स्वाधीनता र हित अनुकुल नरहेको नेपाल समूहको भेलाले ठहर गरेको हो । ‘नेपाल सरार र अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीच भएको सम्झौता तथा नेपालका प्राकृतिक स्रोतहरुको उपयोगका सम्बन्धमा हुने कुनै पनि सम्झौता र सहमति नेपालको स्वतन्त्रता, स्वाधीनता र हित अनुकूल मात्र हुनुपर्नेमा जोड दिँदै त्यसतर्फ यो भेला सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ,’ बुँदा नम्बर ११ मा भनिएको छ । चैत ४ गतेदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाले प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रियता, सार्वभौकिता एवम् स्वतन्त्रता विरुद्धमा कतिपय सम्झौता गरेको, सीमा समस्याबारे मौन रहेको भन्दै ओलीले गरेका निर्णय अस्वीकार गर्ने निर्णय पनि गरेको छ । ‘संविधान सभामा लामो छलफल र बहसपछि बनेको नेपालको संविधानले पनि सबै प्रकारका असमान सन्धि सम्झौताहरुको पुनरावलोकन गरी राष्ट्रिय हितलाई सर्वोपरी राखेर अन्य देशहरुसँग सन्धि सम्झौता र सहमति गर्ने एवम् संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील एवम् असंलग्नताका सिद्धान्त तथा स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुने स्पष्ट मार्ग निर्देशन गरेको छ’ बुँदा नं १० मा भनिएको छ, ‘यसको विपरीत प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीको नेतृत्वमा भएका नेपालको हित प्रतिकूलका कतिपय सम्झौता, निर्णय र कामहरुको विरोध गर्दै यो भेला तिनलाई अस्वीकार गर्दछ । साथै नेपालको सीमा क्षेत्रमा देखा परेका समस्याप्रति नेपाल सरकारको मौनताको विरोध गर्दै अन्तर्राष्ट्रिय कानून, मान्यता र अभ्यास अनुरुप नेपालको भूभाग, सीमाको सुरक्षा गर्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन सम्बद्ध जिम्मेवारहरुसँग माग पनि गरिएको छ । १७ बुँदे प्रस्ताव यहाँ हेर्नुहोस् : नेपाल समूहको राष्ट्रिय भेला : ओलीले गरेका निर्णय अस्वीकार (प्रस्तावसहित)