एलआईसी नेपालको जनकपुर कार्यालयमा लगाइएको ताला खुल्यो

जनकपुरधाम। एलआईसी (नेपाल) लिमिटेड जनकपुरधाम र गौर शाखाले बीमा गराएका व्यक्तिहरूको करीब १ करोड रुपैयाँ हिनामिना गरिएको आरोपमा दुई महीनादेखि कम्पनीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा लगाइएको ताला खुलेको छ । कम्पनीको केन्द्रीय कार्यालयका कानूनी सल्लाहकार तथा सूचना अधिकारी सुदर्शन गिरी र बीमा अभिकर्ताबीच भएको छलफलपछि एक हप्ताका लागि आन्दोलन स्थगित गरिएको कम्पनीका अभिकर्ता सत्येन्द्र पाण्डेयले जानकारी दिए । छलफलमा विवादित घटनाबारे अध्ययन गरी ७ दिनभित्र समस्या समाधान गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । अभिकर्ता पाण्डेयका अनुसार ६५ जनाको नाममा रहेको नयाँ बीमालेख जारी भएको छैन । त्यस्तै प्रक्रिया पूरा नगरेरै एक हजारभन्दा बढी नयाँ बीमालेख जारी गरिएको र कानून विपरीत एक सय जनाभन्दा बढी बीमालेखबाट ऋण निकासा गरिएको उनको आरोप छ । उक्त घटना बाहिरिएसँगै कम्पनीले शाखा प्रमुख विपिनकुमार साहलाई निलम्बन गरेको छ ।