नेपाल राष्ट्र बैंकले 'हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०' मा संशोधन गरेको छ। तेस्रो संशोधनमा राष्ट्र बैंकले स्प्रेड दर बढाएको छ ।जस अनुसार अब हयार पर्चेज कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ। यस अघि यो दर ३ प्रतिशत मात्र थियो । यस संगै अब किस्ताबन्दीमा गाडी खरीद गर्दा महँगो हुने भएको छ । त्यस्तै अब कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस अघि यो सीमा तोकिएको थिएँन। अब भने नयाँ गाडी खरीद गर्दा न्युनतम २० प्रतिशत रकम सुरु मै तिर्नु पर्ने छ । यस अघि शुन्य प्रतिशत किस्ताबन्दीमा पनि कम्पनीहरुले अफर ल्याएका थिए ।कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्ति (Networth) को बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।त्यस्तै हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) रु. ३० करोड हुनुपर्ने ब्यबस्था गरिएको छ।