पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो

कात्तिक १३, काठमाडौं । सरकारले पूँजीबजारको नियामक निकायका दुई जना प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढाएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया गत बिहीवार सूचाना प्रकाशित गर्दै अगाडि बढाएको छ भने नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न पनि प्रक्रिया शुरु गरिसकेको छ । भीष्मराज ढुङ्गानालाई अध्यक्षबाट बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया शुरु गरेको हो । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदबाट चन्द्र सिंह साउदले राजीनामा दिए पछि सो पद पनि खालि छ । बुक विल्डिंग विधिमार्फत प्राथमिक शेयर निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको खुलासा भए पछि सरकारले ढुङ्गानालाई बर्खास्त गरेको थियो भने नेप्से प्रमुख आफैं राजीनामा दिएर बाहिरिएका थिए । धितोपत्र बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात् कात्तिक २५ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिन सक्नेछन् ।  धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन् । साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पूरा भइ ६० वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।  अर्थ मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएको छ । उक्त समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ । यसैगरी सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरिएको छ । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजनासमेत पेश गर्नु पर्नेछ । उक्त पदकालागि बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्ने छ ।आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने छ । दरखास्त आवेदनसँगै ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ । आवेदन दिने म्याद भने कात्तिक २७ गतेसम्म रहेको छ । यसअघि दुवै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । कुनै  कानूनी अड्चन वा अन्यथा नभएमा सम्भवतः दुवै नियमनकारी निकायले नियुक्ति प्रक्रिया मंसिर महीनाभित्र सम्पन्न भएर पुसबाट प्रमुख पाउने छन् ।