बजेटप्रति पर्यटकीय नगरी पोखराका उद्योगी व्यवसायीको धारणा : आशावादी तर कार्यान्वयनमा चुनौति

जेठ १८, कास्की । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले गत शनिवार प्रस्तुत गरेको बजेटमा कोभिड- १९ का कारण थलापरेको उद्योगधन्दा,पर्यटन, व्यापार, व्यवसायीमैत्री र कोरोना भ्याक्सिन खरीदका विभिन्न कार्यक्रम ल्याएपछि पोखराका निजी क्षेत्र आशाबादी देखिएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि रू.१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।यहाँका उद्यमी तथा व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, पर्यटनसँगै उद्योगी तथा ब्यवसायीलाई विभिन्न छूट र प्राथमिकता दिएको भन्दै  बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सरकारले ल्याएको बजेट समग्रमा राम्रो रहेको बताएका छन् । उनले कोभिड–१९ को महावारीले उद्योगधन्दा र ब्यवसायलाई प्रभाब पारेको अवस्थामा सरकारले निजी क्षेत्रका विभिन्न समस्यालाई बजेटले समेटेको बताए ।  ‘निजी क्षेत्रको अपेक्षा अनुसार बजेट आएको छ,समग्र बजेट कोभिडका कारण थलापरेका उद्योगधन्दासंगै ब्यवसायीका लागि बजेटले सम्वोधन गरेको छ’, उनले भने । ‘सरकरले ल्याएको बजेट जति लोकप्रिय छ ।त्यतीनै कार्यन्वयमा चुनौती देखिन्छ ।बजेट तत्कालै कार्यान्वयमा आउने गरि सरकार अगाडी बढोस ।’ अध्यक्ष कोइरालाले उद्योगी ब्यवसायीलाई सरकारले पुनर्कर्जा, विद्युत् महसुल छूट लगायतका विषय समेटेको बताए । उनले बजेट राम्रो भएपनि कार्यान्वयन पक्ष कसरी अगाडी बढ्छ भन्नेमा यसको सफलता र असफलता निर्भर रहने बताए ।  ‘मुख्यकुरा बजेटको कार्यान्वयनमा सरकार कसरी अघि बढ्छ भन्ने हो,यो हेर्न बाँकी नै छ’, उनले भने । ‘विगतमा पनि राम्रा बजेट आएकै थिए । विगतमा सरकारले विकास बजेट ३५/ ४० प्रतिशत पनि खर्च गर्न सकेको छैन, आगामी दिनमा बजेटलाई उद्धेष्य अनुरुप कार्यान्वयन गरियो भने यसका राम्रा पक्ष छन् ।’ उनले उत्पादन र रोजगारी समेत श्रृजना गर्ने ठुला उद्योगलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले सवै क्षेत्र कोभिडले थलापारेको अवस्थामा सरकारले सवै क्षेत्रलाई समेटेर अहिलेको बजेट ल्याएको बताए ।उनले अहिलेको जटिल अवस्थामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले थोरै भएपनि उद्योगी तथा ब्यवसायीलाई राहत दिने दावी गरे । अध्यक्ष भट्टराइले पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसाय बचाउनका लागि सरकारले पुनरुत्थानका कार्यक्रम ल्याएकाले यसले व्यवसायीलाई केही राहत दिने बताए । ‘सरकारले बजेट मार्फत पुनरुत्थानका कार्यक्रम ल्याएको छ, यसले ठूला तथा साना व्यवसायीलाई थोरै भएपछि राहत दिने छ’, उनले भने ।उनले पर्यटनलाई सरकारले उद्योग सरह मान्यता दिएर बजेटमा समेटेको बताए । अध्यक्ष भट्टराईले सरकारले पर्यटन ब्यवसायीका लागि ल्याएको पुनरुत्थानका कार्यक्रममार्फत पर्यटन उद्योगमा सम्बद्ध व्यवसायीलाई कम्तिमा / ।५ प्रतिशत ब्याजदरमा ऋणको ब्यवस्था गर्न पर्ने बताए । उनले व्यवसायीले बैक तथा वित्तीययसंस्था मार्फत लिएको ऋणको किस्ता कम्तिमा  दुई वर्षका लागि समय थप गरिदिन आग्रह गरे । उनले पर्यटन व्यवसायसँग सम्वन्धित धेरै कुरालाई बजेटले समेटेको बताउदै पर्यटन क्षेत्रका मजदूरका वारेमा नीति तथा कार्यक्रममा प्रष्ट कुरा नआएकाले उनीहरुलाई व्यवसाय बचाउनका लागि सरकारले रोजगारी र विनाब्याजमा ऋणको व्यवस्था गर्नुपर्ने बताए ।  अध्यक्ष भट्टाइले विगतको झन्झटिलो प्रक्रिया हटाएर साना, मझौला तथा ठूला सबै व्यवसायले राहतको अनुभुति गर्ने गरी प्याकेजमा योजना बनाउन सुझाव दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं केन्द्रीय सदस्य संजिब बहादुर कोइरालाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सकारात्मक रहेको बताएका छन् । उनले कोभिडको महामारीले सवै क्षेत्र थला परेका बेला सरकारले उद्योगी ब्यवसायी लगायत आम नागरिकले राहत महसुस गर्ने गरी बजेट ल्याएकाले यसलाई तत्कालै कार्यान्वयमा ल्याउन आग्रह गरे ।  उनले अक्सिजन उद्योग स्थापनाका लागि भन्सार तथा भ्याट छूट दिने तथा सामुदायिक, निजी अस्पताललाई अक्सिजन प्लान्ट जडानमा ५० प्रतिशत पुँजीगत अनुदान दिने, सर्वसाधारलाई खानेपानी र विद्युत् लगायतमा छूट दिनेजस्ता व्यवस्था सकारात्मक रहेको बताए । अध्यक्ष कोइरालाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले कर्मचारीलाई वार्षिक १० दिनको विदा दिएर आन्तरिक भ्रमणलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताए । उनले कर्मचारीलाई पेड होलिडेमार्फत भ्रमण गर्ने व्यवस्था गरेर सरकारले आन्तरिक पर्यटनलाई चलायमान गराउन खाजेको बताए ।

सम्बन्धित सामग्री

वायु प्रदूषणको जोखिममा पोखरा, पर्यटक आगमनमा असर पर्ने चिन्ता

कास्की । स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौं पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको छ । एक तथ्याङ्कअनुसार पोखराको वायु प्रदूषण दिनानुदिन बढ्दै गएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार पोखरामा यसको दर बढिरहेको छ । सो संस्थाले पोखरामा वायु प्रदूषण मापन यन्त्र राखेर अध्ययन थालेको छ । संस्थाले पोखरामा राखेको मापन केन्द्रले बुधवार ८ः३० बजेको समयमा हावामा प्रदूषणको सूचक ३५१ देखाएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा पराजुलीले जानकारी दिए । पोखरामा दैनिक, मासिक, त्रैमासिक तथ्याङ्कमा वायु प्रदूषण मात्रा बढ्दै गएको उनको भनाइ थियो । ‘हामीले सन् २०२२ देखि नै यो डिभाइस राखेर तथ्याङ्क लिने काम गरेका छौं,’ पराजुलीले भने, ‘पहिला महेन्द्रपुलमा राखेका थियौं, त्यहाँ सवारी आवागमन धेरै हुने भएकाले धेरै नै देखाउने भयो, अहिले नयाँबजार क्षेत्रमा राखेका छौं,’ यहाँ पनि दिनानुदिन प्रदूषण इन्डेक्स बढ्दै गएको छ ।’  सो यन्त्रको सूचकअनुसार शून्य देखि ५० सम्मलाई राम्रो, ५० देखि एक सयसम्मलाई नराम्रो, एक सयदेखि दुई सयसम्म अस्वस्थकर, दुई सयदेखि तीन सयसम्म अति अस्वस्थकर र तीन सयदेखि माथि खतरनाक मानिने उनले जानकारी दिए ।   पोखरामा बिहान ८ देखि दिउँसो १२ बजेसम्म प्रदूषणको मात्रा बढी हुने गरेको स्वच्छ ऊर्जा नेपालका प्राविधिक सल्लाहकार डा. भूपेन्द्र दासले बताए । यन्त्रबाट मापन गर्दा बढ्दो क्रममा भेटिएकाले पोखराले वायु प्रदूषण कम गर्ने विषयमा सोच्ने बेला भएको उनले बताए । ‘नोभेम्बर–डिसेम्बरमा अलि बढी नै वायु प्रदूषण हुन्छ,’ उनले भने, ‘तर अन्य समयमा समेत बढ्दो स्थितिमा छ ।’  जाडोयाममा पानी नपरेका कारण पनि वायु प्रदूषण बढेको प्राविधिक सल्लाहकार डा. दासले बताए । ‘वायु प्रदूषण कम हुनका लागि वर्षाको ठूलो भूमिका हुन्छ, यसपटक पोखरामा पानी परेन, यसले गर्दा पनि प्रदूषण झनै बढेको छ,’ उनले भने, ‘अर्को कारण काठमाडौंमा जस्तै विकासका काम भइरहेका छन्, यसले पनि प्रदूषणमा बढिरहेको छ ।’   डिजल पेट्रोलबाट चल्ने सवारीसाधन, निर्माण क्षेत्रबाट आउने प्रदूषण पनि वायू प्रदूषणको कारक हो । उद्योग, निर्माणस्थल, फोहर तथा कृषिउपज जलाउनु साथै वरिपरिका डाँडाका वनजङ्गलमा डढेलो लाग्नाले पनि पोखराको वायु प्रदूषण वृद्धि भएको डा. दासले बताए ।   यसले गर्दा पोखरावासीसँगै यहाँको पर्यटन क्षेत्रलाई असर गर्ने डा. दासले बताए । ‘वायु प्रदूषण बढ्नु भनेको स्वास्थ्यमा जोखिम बढ्नु हो,’ उनले भने, ‘पर्यटक नेपाल आउनुअघि वायु प्रदूषणको मापन चेक गर्छन्, त्यो बेला प्रदूषण बढेको भेटिएमा स्वास्थ्य जोखिममा राखेर कोचाहिँ पर्यटक आउलान् र ?’  प्रदूषण बढ्नेबित्तिकै मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने डा. दासले बताए । उनका अनुसार तत्काल रुघाखोकी, आँखा चिलाउने, टन्सिल, एलर्जीलगायत समस्या देखा पर्छन् । दीर्घकालमा मुटुसम्बन्धी रोग देखा पर्ने, हृदयघात, फोक्सो, स्वासप्रस्वासमा समस्या देखिन्छ । पोखराको बढ्दो वायु प्रदूषण रोक्न सरोकारवाला सजग हुनुपर्ने डा. दासले सुझाव दिए । डिजल–पेट्रोलबाट चल्ने सवारीसाधन समयसमयमा जाँच गर्ने, विद्युतीय सवारीसाधनको प्रयोगमा जोड, कृषि अवशेष र फोहरमैला जलाउन नहुनेलगायत काम गर्नुपर्ने उनको सुझाव थियो । सरकारी नीतिनियमको नागरिकले पालना गर्नुपर्ने उनले जोड दिए ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताए । पोखराको वायु प्रदूषण बढेको प्रति गम्भीर रहेको जनाउँदै उनले स्वच्छ वातावरणका लागि नीतिगतरूपमै कार्यक्रम तय गरिएको जानकारी दिए ।  ‘हामीले पोखरालाई हरियालीयुक्त सुन्दर र समृद्ध बनाउने नीतिगतरूपमा विभिन्न कार्यक्रम समेटेको कार्यान्वयनका लागि अगाडि बढाएका छौं,’ उनले भने ।  े महानगरले धेरै पहिले नै ४० माइक्रोनभन्दा तलका प्लास्टिक प्रयोग नगर्ने भन्ने निर्णय गरेको भए पनि कार्यान्वयनमा समस्या देखिएको जनाउँदै उनले अब त्यसतर्फ पनि चासो दिएको बताए । २० वर्षभन्दा पुराना सवारीसाधनको व्यवस्थापन साथै इलेक्ट्रोनिक सवारीसाधनका लागि यातायात व्यवसायीसँग छलफल भइरहेको उनले जानकारी दिए ।  सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सहरी विकास र वातावरण सन्तुलन कायम गरी नागरिकको जीवनयापनमा सुधार ल्याउने कार्यक्रम रहेको र कोइकाको ‘रिसाइकिल्ड’ र ‘अफसाइकिल्ड’ करिब रू. सात अर्बको वातावरणमैत्री योजना सञ्चालन हुन लागेको तथा करिब चार हजारलाई रोजगारी दिइने पनि प्रमुख आचार्यले जानकारी दिए ।  प्रमुख आचार्यले चार ठाउँमा अटोपार्क बनाएर सेन्ट्रलाइज्ड गर्ने, वर्कसपलाई बस्तीभन्दा पाँच सय मिटर टाढा राख्ने र औद्योगिक क्षेत्रका लागि एक हजार ६ सय रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएर वडा नं ३३ मा औद्यागिक क्षेत्र स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । रासस

१० घण्टाको पोखरा–सिमरा यात्रा अब आधा घण्टामा सरर......

भदौ १५, पोखरा । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।            भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।            भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।       वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।            बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतवार, बुधवार र शुक्रवार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।            उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।            कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् । बुधवारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर ७ हजार १७०रुपैयाँ रहेको छ ।            त्यस्तै मध्यमस्तरको टिकटको भाडादर ५ हजार २७० रुपैयाँ छ भने सस्तो ४ हजार ७७० रुपैयाँ  भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए।            यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत बुधवारदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए।            पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए । रासस