भक्तपुर । मध्यपुर थिमिस्थित शंखधर चोकमा आकर्षक शंखधर उद्यान निर्माण गरिएको छ । नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरको २ करोड र मध्यपुरथिमि नगरपालिकाको ४ करोड रुपैयाँमा सो उद्यान तयार पारिएको हो ।
शंखधर दिवस अवसर पारेर काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यान शुभारम्भ गर्दै उपत्यकाका १२ नगरपालिकालाई धार्मिक तथा पर्यटकीय तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको बताए ।
उनले भने, ‘काठमाडौं महानगरपालिका सबैभन्दा जेठो र स्रोत–साधन पनि धेरै भएको सांस्कृतिक पालिका हो । आफ्नो नगरपालिका मात्रै बनाएर हुँदैन, छिमेकी नगरपालिका पनि बनाउनुपर्छ । तब मात्र महानगरको गौरव बढ्छ भनेर नगरपालिका–नगरपालिका साझेदारी कार्यक्रम अगाडि बढायौं । यसको एउटा नमुना यो उद्यान हो ।’
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर उद्यान निर्माणका लागि १३ करोडको गुरुयोजना स्वीकृत गरिएको जानकारी दिए । उनले भने, ‘पहिलो चरणको काम सम्पन्न गर्यौं, । बाँकी काम अर्को वर्ष अर्को कार्यकालका लागि बाँकी राखेका छौं । बाँकी काम सम्पन्न गर्न महानगरले आगामी वर्ष अझ धेरै आर्थिक सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।’
करिब १३ रोपनी क्षेत्रफलमा ढुंगाको खुट्किला, पानीको झरना, झुन्डिएको बगैंचा, ढुंगेधारा, एमपी थियटर (डबली), पदमार्ग, दुबो रोपेर हरियो बगैँचा, ह्यांगिङ गार्डेन निर्माण भएको छ ।
गुरुयोजनाअनुसार बाँकी पाँच रोपनीमा हरियो उद्यान, चिल्ड्रेन पार्क, परम्परागत शैलीको सत्तल (पाटी), शंखधर साख्वाःको शालिक, ठूलो शंख, रक क्लाइम्बिङ, रोप क्लाइम्बिङ निर्माण गर्ने काम बाँकी भएको छ ।
काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरले संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताइन् । कार्यक्रममा शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, शंखधर साख्वाः प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि–४ का सदस्य रामकेशरी श्रेष्ठलगायतले शंखधर उद्यान र सम्पदा संरक्षणमा थिमिले चालेको कदमको चर्चा गरे । रासस