सांसदको प्रश्न– गरिबको दशैं कसरी टर्छ ?

काठमाडौं । सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।     सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे । ‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’ उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।’  सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकन तदारुकता गर्न ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।   सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरे ।   सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे ।   सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताए । सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे । रासस