विराटनगर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई विनम्र बन्न, तर कमजोर नबन्न निर्देशन दिएका छन् । बिहीवार प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमणको क्रममा क्षेत्रीले प्रदेश १ का १४ जिल्लाका प्रहरी प्रमुखहरूलाई प्रहरी कमजोर भए शान्ति सुरक्षा स्थापना हुन नसक्ने बताएका हुन् ।
प्रहरी कर्मचारीको आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरशः पालना गर्दै नागरिकलाई छिटो छरितो एवं पारदर्शी रूपमा सेवा उपलब्ध गराउन सधैं क्रियाशील हुन पनि उनले निर्देशन दिए । प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट आम नागरिकलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउन तथा आपराधिक घटना नियन्त्रणमा सशक्त रूपमा कामकारबाही अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।
महानिरीक्षक थापाले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी र प्रदेशका १४ ओटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया गरेका थिए । सो क्रममा प्रहरी कार्यालयका प्रमुखहरूले आ–आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बीसीलेसमग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था प्रस्तुत गरेका थिए । ९ करोड ३६ लाख ६७ हजार रुपैयाँ लागतमा बनेको प्रदेश १ प्रहरी कार्यालयको भवनमा हिरासत, ब्यारेक, नागरिक सहायता कक्ष लगायत संरचना रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पु¥याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो ।