कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
३०/४० को दशकमा सुदूरपश्चिममा छठ पर्व मनाउने मधेसी समुदायको बसोबास नगण्य थियो । पूर्वी तराईबाट सुदूरका कैलाली र कञ्चनपुर बसाइँ सरेका मधेसी समुदायका केही परिवार पनि छठ मनाउन आफ्नै रैथाने थातथलो जान्थे । धनगढीका पूर्ण शंकर यादवका अनुसार कैलालीको मोहना नदी भन्सार नजिकै मोहना घाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य (जल) चढाएर छठ मनाउने कार्यको सुरुवात पचासको दशकमा राधेश्याम गुप्ता र पुरन लालले गरेका हुन् । साठीको दशकपछि मोहना घाट छठी पर्वको अवसरमा झकिझकाउ हुन थालेको हो ।