बाँदरले नष्टपारेपछि खेतीबाली नै परिवर्तन, ५ सय रोपनी बाँझो जमिनमा तरुल खेती

पर्वत  । खेतीवाली लगाउन छाडेर बाँझै रहेको जग्गा सदुपयोग गर्न पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीका बासिन्दाले नयाँ जुक्ति अपनाएका छन् ।  बाँदर नियन्त्रणका लागि लाखौ रुपैँया खर्च गरेर अभियाननै थालेपनि कुनै उपाय नलागेपछि खेतीवाली नै परिवर्तन गर्न थालिएको हो । मकै, धान, जौ, गुहुँ जस्ता अन्नवलाी लगाउँदा बाँदरले पुरै सखाप पार्न थालेपछि यस वर्षदेखि व्यावसायिक तरुल खेतीगर्न थालिएको छ । अन्नवाली लगाउँदा लगानी अनुसारको प्रतिफल पाउन नसकेपछि स्थानीय कृषकहरुले तरुल खेती शुरु गरेका हुन् ।   महाशिला गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार स्थानीय २० जना कृषकहरू मिलेर समूह निर्माण गरेर तालिम दिएपछि व्यावसायिक रूपमा तरुल खेती सुरु गरिएको हो । बजारको अवस्थाका बारेमा बुझ्दा रातो तरुलको माग राम्रो भएको पाइएपछि ११ क्विन्टल रातो र २ क्विन्टल सेतो तरुल लगाइएको उनले बताए । सेतो तरुलको तुलनामा रातो तरुलको माग बढि रहेको धितालको दावी छ । अहिले झण्डै ५०० रोपनीमा तरुल खेती गरिएको उनले बताए । बढ्दै गएको बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले गाउँपालिका र कृषकहरूले तरुल खेती गर्ने योजना बनाएर यस वर्षदेखि शुरु गरिएको हो । तरुल खेतीका लागि खाडल र मलको जोहो कृषकले गरे भने तरुलको बिऊ गाउँपालिकाले शत प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । गत चैतमा झन्डै १३ क्विन्टल तरुलको बीउ रोपिएको स्थानीय जंगबहादुर शाहिले जानकारी दिए । शाहि आफुले तीन सय वटा विऊ लगाएको बताए ।  गाउँपालिकाले सर्लाहीवाट विऊ ल्याएर कृषकहरुलाई वितरण गरेको थियो । अहिले परिक्षणको रुपमा लगाईएको खेती भएपनि उम्रिएर झांगिएको र राम्रै फल लाग्ने संकेत देखिएको शाहिको भनाई छ । बाँझो रहेको ठाउँमा तरुल लगाउने र त्यसमा पालिकाले सहयोग गर्ने भनेपछि व्यावसायिक रूपमा तरुल लगाउन कृषकहरु समेत उत्साहित भएका हुन् ।  आगामी पुस माघमा तरुल खन्ने बेला हुने र बजारीकरणमा समेत गाउँपालिकाले सहजीकरण गर्ने बताईएको छ । स्थानीय दर्बुडाँडाका डम्बर बहादुर शाहीले सय भन्दा बढी बिऊ लगाएकोमा सवै उम्रिएर झांगिएको बताए । पहिलो पटक व्यावसायिक रूपमा लगाएको तरुल खेतीले आगामी हिउँदमा राम्रै प्रतिफल दिएमा क्षेत्रफल विस्तार गर्ने योजना शाहीले बताए । रातो तरुलको बिक्री सहज हुने पाईएपछि गाउँपालिकाले रातो तरुलको बीउ वितरण गरेको उनको भनाई रहेको छ । सिजनको बेला रातो तरुलको प्रतिकिलो रु.९० सम्ममा बिक्री भएको पाइएपछि कृषकहरुलाई सेतो भन्दा रातो तरुल लगाउन आग्रह गरिएको हो । बाँझो जग्गामा एक पटक लगाएर छाडेपछि उत्पादन दिने भएकाले पनि यो खेती सहज हुने पालिकाले जनाएको छ ।  गाउँपालिकाभित्र बाँदर आतंक बढ्दै गएपछि विकल्प स्वरुप तरुल खेतीमा कृषकलाई आकर्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार खाडल तयार पार्ने, प्राङ्गारिक मलको व्यवस्थापन लगायतका कामहरू कृषकहरूले गरेपछि करिब रु. १ लाख २० हजारको लागतमा बीउ व्यवस्थापनको काम गाउँपालिकाले गरेको हो ।  गाउँपालिकाले आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/७८ सम्म बाँदर छोप्ने विज्ञ भारतवाट ल्याएर झण्डै ३/४ सय को हाराहारीमा बाँदर छोपेर चितवन राष्ट्रिय निकुञ्जमा समेत पु¥याइको थियो । जति गरेपनि बाँदरको संख्यामा कमी नआएपछि अहिले उक्त अभियान छाडिएको छ । बरु बाली नै परिवर्तन गर्नुपरेको अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए । बाँदरले तरुल खेतीमा कुनै असर गर्न नसक्ने भएकाले सोचेअनुसार प्रतिफल लिन सकिने उनको विश्वास छ ।