यात्रुविहीन रेल चलाउन दैनिक १८ हजार रुपैयाँको डिजेल, कानून नहुँदा यात्रु बोक्न समस्या

चैत ३, काठमाडौं । डिजेलको मूल्य उच्च वृद्धि भएका बेला जनकपुर–जयनगर रेलमार्गमा यात्रुविहीन रेल सीमा वारपार गराउन दैनिक १३० लिटर डिजेल खर्च हुने गरेको छ ।  अहिलेको बजार मूल्यअनुसार यसरी खर्च भइरहेको डिजेलको मूल्य करीब १८ हजार रुपैयाँ पर्न आउँछ । बुधवारको मूल्य समायोजनअनुसार डिजेल प्रतिलिटर रू. १३८ छ ।  दैनिक करीब १८ हजार रुपैयाँ खर्च भइरहे पनि रेलले यात्रु बोक्न भने थालेको छैन । रेलसम्बन्धी कानूनको अभावमा १९ महीनाअघि नेपाल ल्याइएका रेल अहिले यात्रु नबोकी सीमा वारपार गरिरहेका हुन् ।  रेल सञ्चालनका लागि भारतबाट ल्याइएका १६ कर्मचारीलाई पारिश्रमिक पनि दिनु परिरहेको छ । फागुन १ देखि ३० गतेसम्म यात्रुविहीन रेल चलाउँदा डिजेलमा मात्र रू. ५ लाख १८ हजार खर्च भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालन गर्दा दैनिक १३० लिटर डिजेल खर्च भइरहेको बताए । ‘कानून नहुँदा रेल चलाउन सकिएको छैन,’ झाले भने, ‘तर रित्तो भए पनि रेल चलाइरहेका छौं ।’ कानून आएपछि भने रेल यात्रुसहित चल्ने उनको भनाइ छ ।  अहिले कम्पनीमा भारतीयसहित ५८ कर्मचारी कार्यरत छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी पनि अहिलेको समस्या कानून नहुनुलाई बताउँछन् । ‘कानून नभई रेल सञ्चालन गर्दा रेलले मानिसलाई क्षति पुर्‍याए वा केही गरी ज्यानधनको क्षति भएमा कसैलाई दण्ड जरीवाना गर्नुपर्ला,’ ती अधिकारीले भने, ‘त्यसका लागि बेग्लै कानून चाहिन्छ, त्यो हामीसँग छैन ।’  रेल सञ्चालन गर्न कानूनको अभाव भएको र संसद् नचलेका बेला २०७८ वैशाख २३ गते ‘रेलवे अध्यादेश–२०७८’ जारी गरिएको थियो । उक्त अध्यादेश निष्क्रिय भएपछि त्यसको ७ महीना अर्थात् मङ्सिर १६ गते ‘रेलवे अध्यादेश– २०७८’ जारी भएको थियो । संसद् चले पनि अध्यादेश पारित हुन सकेन । त्यसैले रेल ल्याएको १९ महीना बित्दासमेत कानून अभाव भएकाले रेलमार्गमा यात्रुसहित रेल सञ्चालन हुन सकेको छैन ।  रेल सञ्चालन, भाडा शुल्क निर्धारण, मालसामान ढुवानीका साथै विलम्ब शुल्क तोक्नेलगायत कार्यका लागि स्वायत्त संस्था ‘नेपाल रेलवे बोर्ड’ स्थापनाको व्यवस्था गर्दै २०७६ पुस १८ गते मन्त्रालयले संघीय संसद्मा ‘रेलवे ऐन–२०७६’ विधेयक दर्ता गरेको थियो । यसबीचमा पटकपटक व्यवस्थापिका–संसद्का बैठक बसे पनि विधेयक पारित हुन सकेन ।  तर, रेल सञ्चालनकै लागि दुईपटक ल्याइएका अध्यादेश पनि निष्क्रिय भएकाले अहिले कानूनकै अभावमा झन्डै रू. १ अर्ब लगानी उपयोगविहीन मात्र बनेको छैन, रेलवे घाटामा सञ्चालन भइरहेको छ । प्रिन्ट संस्करणबाट 

सम्बन्धित सामग्री

रेल सञ्चालनको मिति छिट्टै तोकिने

काठमाडौं । नेपालले करीब १ अर्ब रुपैयाँमा किनेका रेल चल्न नसकेका बेला रेलवे अध्यादेश–२०७८ राजपत्रमा प्रकाशित भएसँगै सञ्चालनका लागि कानूनी बाटो खुलेको छ । सोही अनुसार नेपाल रेलवे कम्पनी लिमिटेडले रेल चलाउन छिट्टै मिति तोकिने जानकारी दिएको छ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन गर्न १९ महीनाअघि ल्याइएका दुई सेट रेल अहिले यात्रुविना नै चलेका छन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले रेलवे अध्यादेश–२०७८ जारी गरेपछि बुधवार मुद्रण विभागले यो अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अध्यादेशसँगै कानूनी बाटो खुलेको र छिट्टै यात्रुसहितको रेल चल्ने दाबी गरे । संसद्बाट ६० दिनभित्र अध्यादेश पास हुने अपेक्षा गरिएको भन्दै उनले तत्कालका लागि कानूनी बाटो खुलेको उल्लेख गरे । ‘अब हामीले रेल चलाउने तयारी गरेका छौं,’ उनले भने ‘रेलको औपचारिक उद्घाटनका लागि २/३ दिनभित्रै मिति सार्वजनिक गर्नेछौं । अहिले आर्थिक र कानूनी समस्या पनि नहुँदा रेल चलाउन कुनै बाधा छैन, सबै तयारी पूरा भएको छ ।’ खासगरी रेल चलाउँदा हुन सक्ने दुर्घटना, मानवीय क्षति, जोखिम वहनका साथै यात्रु भाडादर, मालसामान ढुवानी भाडादर लगायतको कानूनी रूपमै व्यवस्था नहुँदा रेल सञ्चालनमा अन्योल हुँदै आएको थियो । रेल चलाउन सरकारले यसअघि पनि दुईपटक अध्यादेश ल्याएको थियो । तर ती अध्यादेश पारित नहुँदा रेल चलाउने कानूनी व्यवधान हटेको थिएन । कम्पनीसँग अहिले कर्मचारी ५८ कर्मचारी छन् । रेल चलाउन भारतबाट २६ जना प्राविधिक ल्याउने भनिए पनि तीमध्ये अहिले १४ जना आइसकेका छन् । यस्तै थप १२ जना प्राविधिक नेपाल आउने क्रममा रहेको झाले बताए ।

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

काठमाडौं । नेपालले झन्डै रू. १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पाेरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ । पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्‍यै छ, तर रेल हालसम्म पनि प्रयोगविहीन अवस्थामा छ । भारत सरकारले नेपाल–भारत सीमाका विभिन्न पाँचओटा नाकामा रेलमार्ग बनाउने सन् २०१० मा घोषणा गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा जनकपुर–जयनगर खण्डको ३४ किलोमीटर (किमी) मा सञ्चालन गर्न रेल ल्याइएको थियो र परीक्षण सञ्चालनसमेत सफल भएको थियो । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमीटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमीटर र तेस्रो चरणमा भंगहादेखि बर्दिवाससम्म १७ किलोमीटर गरी जम्मा ६९ किलोमीटर रेलवे सेवा सञ्चालन गर्ने योजना छ । तर, नेपालको तयारी फितलो हुँदा रेल ल्याए पनि उपयोगविहीन अवस्थामा पार्किङमा राखिएको छ । सरकारले अर्ब लगानी गरेर किनेका ती रेल कहिले चल्छन् भन्ने विषय अझै यकिन छैन । भन्सारबाहेक रू. ८५ करोड ६५ लाखमा दुई सेट रेल नेपाल सरकारले किनेको थियो । यसमा रू. १५ करोड भन्सार लागेकाले रू. १ अर्ब लागत पुगेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले नेपालमा रेल ल्याए पनि त्यसका लागि आवश्यक जनशक्ति नहुँदा र जनशक्ति भर्नामा समेत समस्या देखिए पछि रेल चलाउन सम्भव नभएको बताए । अहिले केही जनशक्तिलाई तालीम दिइसकेको र अन्य तयारी पनि भएकाले अब भने रेल चलाउन सकिने आधार तय भएको उनको भनाइ छ । ‘लगभग तयारी पूरा भएको छ तर राजनीतिक नेतृत्व आएपछि यसलाई औपचारिकता दिने भन्ने छ,’ उनले भने । असार २९ गतेदेखि मन्त्रालय मन्त्रीविहीन छ । मन्त्री आएपछि रेल सञ्चालनलाई गति दिने तयारीमा मन्त्रालय छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल अहिले नै चल्छ, भनेर समय किटान गर्न सक्ने अवस्था नभएको बताए । ‘मिति तोक्न अझै सक्ने अवस्था छैन,’ झाले भने, ‘अहिले रेल सञ्चालन गर्ने कानून नै छैन यसका साथै प्राविधिक समस्या पनि रहेकाले कहिले चल्छ, भन्न सकिँदैन ।’ रेल चलाउन प्रधानमन्त्रीतहबाट नै निर्णय हुनुपर्ने उनको भनाइ छ । उनले उक्त रेलखण्डमा बनेका भौतिक संरचनाहरू पनि दुई देशबीच हस्तान्तरण भइनसकेको, रेलको भाडादरलगायत विषयमा कानून नभएकाले पहिला यी विषय टुंगो लगाउन आवश्यक भएको बताए । सरकारले रेल चलाउन, यसको भाडा निर्धारणदेखि रेल विभागको विकल्पमा नेपाल रेलवे बोर्ड गठनको परिकल्पना गर्दै रेलवे ऐन २०७६ विधेयक २०७६ पुसमा संसद्मा दार्तासमेत गरेको थियो ।