विराटनगर। विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआईएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न शुरू गरेको छ । शहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेकाले महानगरले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको हो । सो प्रणालीले नगरवासीको घर पहिचान गर्न सहज बनाउने बताइएको छ । नमूनाको रूपमा पहिलो चरणमा विराटनगरका मुख्य बजार क्षेत्रका ६७ घरमा नम्बरिङ गरिने महानगरपालिकाले बताएको छ ।
महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले आइतवार जीआईएस हाउस नम्बरिङ सिस्टमको प्रारम्भ गरिन् । महानगरको कार्यालयसँगै जोडिएको विराटनगर–७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको थालनी गरिएको हो ।
रोडशेष चोकलाई मिलन बिन्दु मानेर मेनरोडका घरहरूमा दूरीका आधारमा घर नम्बर टाँस गरिनेछ । यसमा बाटो, गल्ली र टोलको नाम उल्लेख हुनेछ । निकट भविष्यमा अन्य स्थानमा पनि नम्बरिङ कार्यान्वयन गराउने कार्कीले बताइन् । एडीबीको सहयोगमा सञ्चालन भएको आरयूडीपी परियोजनाअन्तर्गत छुटेको काम अहिले कार्यान्वयनमा आएको महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले जानकारी दिए ।